नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठकमा वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ।
विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रबिन्दुलाई बताए।
नेकपा अलग भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भनि गत वर्ष चैत्र ७ गते २६४ सदस्य केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो।
चैत्र ७ गतेको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई यथावत राख्ने निर्णयसमेत गरेको थियो।
तर, सर्वोच्च अदालतले गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि उक्त कमिटीलाई विघटन गर्नुपर्ने अध्यक्ष ओलीलाई बाध्यता छ।
सचिव तामाङले अब केन्द्रीय कमिटीको मोडालिटी कुन हो भनेर निर्णय गर्नका लागि बैठक बोलाइएको बताए।
तर, बैठकमा पार्टीका निष्कासीत वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल लगायत एघार जनालाई भने नबोलाइएको तामाङले जानकारी दिए।
१० जेठमा अध्यक्ष केपी शर्मा ओलीले नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका कारण उहाँहरुलाई बोलाइएन, उनले भने।
एमालेको केन्द्रीय कमिटी ब्युँतने
नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ।
पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गरेका थिए। अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन्।
उक्त हस्ताक्षर फिर्ता भएमा पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते (आज) महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने तय गरेको थियो।
सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । उक्त निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहँदै आएकामा वार्ता र संवादबाट पार्टी एकतालाई कायम राख्ने कोशिश भइरहेको छ।































प्रतिक्रिया