नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच मंगलबार पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ।
नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उनीहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिए। यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो।
आगामी शुक्रबार महामन्त्री शशाङ्क कोइराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताए।
साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनु पर्ने लगायत विषयमा सहमति भएको उनले बताए। नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुन्।
महाधिवेशन मिति नजिकिदै गर्दा नेतृत्वमा कसरत सुरु
महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत सुरु भएको छ। सोही क्रममा असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो। वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार थिए।
असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो। सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल सुरु गरिसकेका छन्।
संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ।































प्रतिक्रिया