नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले आठ जना एमाले नेताहरुलाई स्थायी कमिटीमा मनोनित गरेको छ।
आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी चार नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो।
जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन्।
यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन्।
उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन्।
बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदकारूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए।
नेकपा एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णय
नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकतालाई बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमालेको २०७७ साल चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। तर सर्वोच्च अदालतले २०७८ जेठ २७ गते फैसला गर्दै सो महाधिवेशन कमिटीलाई वैधता नदिएका कारण एमालेले आजको २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा एमालेको केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो ।
बैठकले नेकपा नेकपा मा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र बेदुराम भुसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।
प्रवक्ता ज्ञवालीले एमालेले बैशाख १२ गते र जेठ १० गते पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावि भएको पनि बताए। बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान पनि गरेको छ।
बैठकले भारतमा उपचाररत एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामनासमेत गरेको छ। केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।































प्रतिक्रिया