जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ। आज सो भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर शशांक कोइराला र काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा शिलान्यास गरेका छन्।
उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै २ करोड आर्थिक सहयोग गरेको छ। भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको १ करोड लगानी रहनेछ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करीब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।
काठमाडौँ महानगर वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि महानगरसँगै प्रदेश सरकार लगायतबाट पनि सहयोगप्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि महानगर र अन्यले गरेको सहयोगप्रति पार्टीकातर्फबाट धन्यवाद दिएका छन् । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, देउवाले भन्ने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ। उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो।’
करीब दुई मिनेट जति मात्रै सम्वोधन गरेका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याती र उनका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रकारुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए। ‘काठमाडौँ महानगरका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो। त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ ।
आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला।’
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गरे । आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा महानगर सहभागी हुन पाउँदा खुशी लागेको बताए । ‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भने, ‘बीपी पुत्र शशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो।
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले कांग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गरे । ‘बीपीले २०१५ सालमा ल्याएको दुई–तिहाईपछि तत्कालिन शासकबाट खोसियो’ शाक्यले भने, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गरे । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भने, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ।’































प्रतिक्रिया