कमला नदीमा बहाव बढ्यो, आसपास क्षेत्रमा ‘अलर्ट’ जारी

कमला नदीमा बहाव बढ्यो, आसपास क्षेत्रमा ‘अलर्ट’ जारी

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगै कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो। 

सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ। पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताए। 

बारअनुसार सेवा

कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ। 

कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो। सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ कँणेलले जानकारी दिए। 

भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने उनको भनाइ थियो। उनका अनुसार आइतबार कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। यसैगरी सोमबार कल्याणपुर नगरपालिका र  लक्ष्मीपुर पतारी गाउँपालिका, मङ्गलबार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिका तथा बुधबार धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइने छ। 

त्यस्तै बिहीबार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका तथा शुक्रबार सिरहा नगरपालिकाका सेवाग्राहीले सेवा पाउने जारी सूचनामा उल्लेख छ। सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक दिनमा तीन जना सेवाग्राहीको मात्र सिफारिस गर्न आग्रह गरिएको छ।रासस

Skip This
Skip This
Logo