महानगरले आवेगमा रत्नपार्कमा कलाकारले बनाएको चित्र मेट्नु‘फ्रन्टलाइनर’को अपमानः कांग्रेस

महानगरले आवेगमा रत्नपार्कमा कलाकारले बनाएको चित्र मेट्नु‘फ्रन्टलाइनर’को अपमानः कांग्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कलाकारले बनाएको चित्र हटाएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कोरोनाविरुद्धको लडाईंमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा कलाकारले बनाएको चित्र महानगरले हटाएपछि कांग्रेसले आपत्ति जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै महानगरसँग लिखित अनुमति लिएर फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा प्रशंसा गर्नुको साटो मेटाउनुले फ्रन्टलाइनरकै अपमान गरेको दावी गरे।

‘काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ?,’ प्रवक्ता शर्माले विज्ञप्तिमार्फत प्रश्न गरेका छन्।

उक्त तस्विर डुजाङ शेर्पाको परिकल्पना कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले एक हप्ताको समय लगाएर फ्रन्टलाइनरको सम्मानमा भित्तामा चित्र बनाएका थिए। 
विज्ञप्ति यस्तो छ:

असार १७, २०७८
‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान । ब्यवहार निन्दनीय ।

महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ।

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौको एक पर्खालमा निर्माण गरेका थिए । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ ।

अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ? 
जय नेपाल !
विश्वप्रकाश शर्मा 
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग

 

Skip This
Skip This
Logo