एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। बिहीबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा ३५ परिवारलाई एक महिना पुग्ने खाद्यान्न् गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन्। 
 
आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अपनाइएको एकद्वार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए। सञ्चार माध्यमबाट चेपाङ समुदायका खाद्यान्न समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफूले कति सहयोग गप्यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको बताए।  

अध्यक्ष ढकालले यस अघि पनि भूकम्प गएको बखत धादिङ जिल्लाको धुसामा सहयोग गरेको स्मरण गदै संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए। अध्यक्ष ढकालले आफू सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धित भई नेतृत्व विकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताए।  

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाद्यान्न सहयोग सवैका लागि अनुकरणीय हुने बताए। उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिँदै गाउँपालिकामा दुःख पर्दा सम्झेकोमा आभार ब्यक्त गरे ।  

उपाध्यक्ष सिलवालले राहत वितरण कार्यक्रम एकद्वार प्रणाली अन्तर्गत भएको जानकारी दिँदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको बताए।  

यो सहयोगले परिवारलाई केहि दिनका लागि भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकामा अध्यक्ष ढकाललाई धन्यवाद दिए। कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली मध्ये काली सुनार, तेजकुमारी सुनार, मैया सुनार, सेती सुनार निर्मला सुनवार लगायत ३५ परिवारलाई खाद्यान्न वितरण गरिएको छ।

सो अवसरमा बेनीघाट रोराङ गाउँपालिका बडा नं ५ अध्यक्ष रोशनकुमार सिलवाल, प्रमुख शासकिय अधिकृत लक्ष्मणप्रसाद भट्टराई, गाउँपालिकाका अधिकृत सन्तोष अर्याल, पर्शुराम घिमिरे, विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा , मनोजकुमार सुर्खेती  धादिङ अस्पतालको डा.सदीक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। सो राहत वितरणको संयोजन विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गरेका थिए।  

Logo