निरन्तरको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो।
पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो। “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भने।
पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे। गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।
मुख्य राजमार्ग खुला, सहायक राजमार्ग अवरुद्ध
वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन्। मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन। सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताए।
उनका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ। उक्त मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ। शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ। जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ।
बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन सुरु
अविरल वर्षासँगै आएको पहिराले अवरुद्ध भएको बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो हटाउन शुरु गरिएको छ। बन्दीपुर–ढाडखोला मोटरमार्गमा विभिन्न ठाउँमा आएको पहिरो हटाएर सडक सुचारु गर्न सुरु गरिएको हो। शुक्रबार बेलुकीदेखि पहिरो पन्छाउने काम सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्। पहिराेले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्याएको छ। ठाउँठाउँमा सडक भासिएको छ।
त्यस्तै डुम्रे–बन्दीपुर सडकखण्डको पहिरो शनिबारदेखि हटाउन सुरु गरिनेछ। “पहिरोले गाउँपालिकाभित्रका विभिन्न वडाका सडक अवरुद्ध भएका छन्, क्रमशः अन्यत्र पनि पहिरो हटाउने काम गर्छौँ”, उनले भने, “पहिराेले विद्युत् पोलमा क्षति पुर्याएपछि बन्दीपुरका अधिकांश ठाउँ बिहीबारदेखि अन्धकार छन्, बिजुलीको समस्या पनि शनिबार दिनभरमा समाधान हुन्छ। पहिराेले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ।रासस





























प्रतिक्रिया