जारी १६ औँ संस्करणको युरोकप २०२० सेमीफाइनल चरणमा पुगिसकेको छ। २४ राष्ट्र सहभागि भएको युरोकप २०२० अन्तिम १६ हुँदै अन्तिम ८ र अन्तिम ४ सम्म पुगेको हो।
यसपाली स्पेन, बेल्जियम, स्विट्जरल्यान्ड, इटाली, इङ्ल्यान्ड, युक्रेन, चेक रिपब्लिक र डेनमार्कले अन्तिम ८ मा स्थान बनाएका थिए भने उपाधि दाबेदार मानिएका ४ टिम अन्तिम १६ बाटै बाहिरिएका छन् । जसमा साविक विजेता पोर्चुगल, साबिक उपविजेता तथा विश्वकप विजेता फ्रान्स, जर्मनी, नेदरल्यान्डस् रहेका छन्। यो अप्रत्यासित नतिजाले यसपाली नयाँ टिमले बाजी मार्ने आंकलन धेरै फुटबलप्रेमीहरुले गरेका छन्।
आज हामी अन्तिम १६ बाटै घर फर्किएका उपाधि दाबेदार ४ ठूला टोलीको प्रदर्शनबारे केही चर्चा गर्न गइरहेका छौं।
१. फ्रान्स
साविक उपविजेता तथा २०१८ फिफा विश्वकप बिजेता फ्रान्सलाई युरोकप २०२० को प्रवल दाबेदार मानिएको थियो। टिम स्टार तथा विश्वकप खेलेका अनुभवी खेलाडीले भरिएको थियो। तर, समूह एफमा रहेको फ्रान्सले प्रतियोगितामा सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेन।
सन् १९८४ र २००० मा दुई पटक युरोकप च्याम्पियन बनिसकेको फ्रान्स समूहको विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो। तर अन्तिम १६ अथवा नकआउट चरणमा फ्रान्स स्विट्जरल्यान्डसँग पराजित हुन पुग्यो।
फ्रान्स स्विट्जरल्यान्डलाई सहज तरिकाले हराएर १६ औं संस्करणको युरोकपको क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्थो तर, नतिजा ठिक उल्टो हुन पुग्यो। स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै बाजी मार्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके र फ्रान्स राउण्ड अफ १६ बाटै बाहिरिए।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीसँग प्रतिस्पर्धा गरेको थियो। जर्मनीलाई १–० गोल अन्तरले हराएको फ्रान्सले प्रदर्शन भने राम्रो गर्न सकेन। फ्रान्सले एक गोल आत्मघाती उपहार पनि पाएको थियो। दोस्रो खेलमा पनि फ्रान्सको प्रदर्शन उत्साहजनक रहेन। सामान्य प्रदर्शन गरेको फ्रान्स दोस्रो खेलमा हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
यस्तै फ्रान्सले समुह चरणको अन्तिम खेलमा पनि सन्तोषजनक प्रदर्शन गर्न सकेन, जसका कारण पोर्चुगलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेर समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो । यद्यपी युरोकप २०२० को छनोट खेलमा भने, फ्रान्सले १० खेलमध्ये ८ खेल जित्दा एक खेल बराबरी र एक खेलमा हार व्यहोरेको थियो।
२. पोर्चुगल
साबिक बिजेता पोर्चुगल यसपाली पनि उपाधिको दौडमा थियो। तर साबिक विजेता पोर्चुगललाई हराउने सबै टिमको पहिलो लक्ष्य थियो। पोर्चुगलले २०१६ मा फ्रान्सलाई हराएर च्याम्पियन बनेको थियो।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगलले पछिल्लो खेलहरुमा भने, त्यति राम्रो खेल पस्कन सकेन। समुह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा लयमा देखिएको पोर्चुगल दोस्रो खेलमा भने जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भयो। क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले समूह चरणको अन्तिम खेलमा फ्रान्ससँग २–२ गोलको बराबरी खेल्यो।
पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह एफबाट नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समुहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको थियो। तर, प्रि–क्वाटरफाइनलमा पोर्चुगल बेल्जियमसँग १–० गोल अन्तरले पराजित हुदै घर फर्कियो। उक्त खेलमा पोर्चुगलले पाएको मौकालाई गोलमा परिणत सकेन। पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपरले बचाएका थिए। अनुभवी तथा प्रभावशाली खेलाडीहरु हुँदाहुँदै पनि अन्ततः पोर्चुगलको दोस्रो पटक च्याम्पियन बन्ने सपना अधुरो भयो।
यद्यपी टिमका स्टार रोनाल्डोले भने ४ खेलमा सबैभन्दा धेरै ५ गोल गरेका छन्। पोर्चुगलले युरोकप छनोटमा कुल ८ खेलमा ५ खेल जितेको थियो भने १ खेलमा हार बेहोरेको थियो । यस्तै दुई खेल भने बराबरी खेलेको थियो।
३. जर्मनी
युरोकपको ३ पटक बिजेता जर्मनीले यस पटक भने क्वाटरफाइनसम्मको यात्रा पनि तय गर्न सकेन । तीन पटक उपाधि चुमेको यस टिमलाई यसपाली पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो । जर्मनी सन् १९९६ यता पहिलोपटक युरोकप जित्ने प्रयासमा थियो।
युरोकप २०२० को समूह एफमा रहेको जर्मनीले पहिलो चरणमै साविक विजेता पोर्चुगल र साबिक विश्वकप विजेता फ्रान्ससहित हंगेरीको सामना गर्नु पर्यो। समूह चरणको पहिलो खेलमा फितलो प्रदर्शन गरेको जर्मनी आत्मघाती गोलका कारण फ्रान्ससँग १–० गोलले पराजित भएको थियो।
दोस्रो खेलमा भने लयमा देखिएको जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । यो खेलले जर्मनी टिमप्रति धेरैको ध्यान केन्द्रित भएको थियो। तर, समूह चरणको अन्तिम खेलमा हंगेरीले २–२ गोलको बराबरीमा रोकिदियो।
यसरी समुह चरण पार गर्दै जर्मनीले समूह एफबाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो । तर, नकआउट चरणमा निराशाजनक प्रदर्शन गरेको जर्मनी इंग्ल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै १६ औं संस्करणको युरोकप फुटबलबाट बाहिरियो। जर्मनीसँग यसपटक एक सय पटकभन्दा बढी खेल खेलेका थोमस मुलर र टोनी क्रुज टोलीमा थिए।
४. नेदरल्यान्ड्स
शतप्रतिशत नतिजा निकाल्दै नकआउट चरणको यात्रा तय गरेको नेदरल्यान्ड्स उपाधि दाबेदारमध्येको एक नयाँ टिम बनेको थियो । उत्कृष्ट लयमा देखिएको नेदरल्यान्ड्सले समुह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको ध्यान खिचेको थियो।
समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । पहिलो खेलबाटै लयमा देखिएको नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले हराएको थियो । यस्तै दोस्रो खेलमा पनि अष्ट्रियालाई २–० ले हराएको थियो भने, समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
तर उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स् प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले पराजित हुँदै १६ औं संस्करणको युरोकप फुटबलबाट घर फर्कियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो। अगाभी ठहरिएको नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले त्यसको फाइदा उठायो।































प्रतिक्रिया