सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।
यस वर्षको मनसुन सुरु भए यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार , राहत र पुनर्स्थापनाका लागि सरोकारवालाहरुसँग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए। यसवर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए। उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रतिपरिवार ५० हजार रुपैंयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निर्माणको काम सुरु गरिएको पनि उनले जानकारी दिए।
उनले यसवर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे सभालाई विस्तृत जानकारी गराएका थिए।
मनसुन जन्यकारणले हालसम्म ५ सय ५ निजी घर पुर्णरुपमा क्षति भएका छन् भने १ सय १२ घरहरु आंशिक क्षति भएको छ। विभिन्न ३६ सरकारी कार्यालयहरु क्षतिग्रस्त भएका छन् । ९ विद्यालय तथा सामुदायिक भवन विद्यालय क्षति पुगेको छ।
यस वर्ष बाढीले सिन्धुपाल्चोक जिल्लाका ७, मनाङ्गका २, चितवनमा २ , तनहुँमा १ मोरङ्गमा १, उदयपुरमा एक र सिरहामा १ गरी जम्मा १५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। मनाङ्गमा ५ वटा काठेपुलमा क्षति पुगेको छ। सिन्धुपाल्चोकमा १४ , मनाङ्गमा ७ , मर्स्याङग्दी नदीको एक्ले फाँटमा १ गरी २३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन्।
सिन्धुपाल्ञ्चोकको मेलम्ची आयोजनामा जाने पहुँचमार्ग र पुलहरुमा क्षति भएको हुनाले भौतिक पूर्वाधानर तथा यातायात मन्त्रालयबाट दुईवटा अबिलम्ब २ वटा बेलिब्रिज निर्माणको तयारी गरिएको छ। मेलम्ची आयोजनाको खानेपानी लगायत पुर्वाधार सम्बद्ध विशेषज्ञ टोलीबाट स्थलगत अनुगमन अवलोकन गरि तत्काल पहुँच मार्ग पुर्न निर्माणको साथै आयोजनामा पुगेको क्षतिको एक्किन गरि मर्मत सम्भारको काम अगाडि बढाइएको हो । देशभरका सानाठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। कास्की, लम्जुङ, मनाङ्ग लगायत जिल्लाका साना ठूला गरि २५ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको छ।
मन्त्री पौडेलले पीडितको राहत तथा उद्धारका लागि प्रदेशस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारवाहीको पनि फेयरिस्त प्रस्तुत गरे। त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिहरुले स्थानिय तह र अन्य संघ संस्थासँग समन्वयन गरि प्रभावितहरुलाई राहतको प्रबन्ध तथा खोज तथा उद्धारका लागि जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरुलाई तैनाथ राखिएको मन्त्री पौडेलले बताए।
विषयगत निकायबाट तत्काल कार्ययोजना बनाई क्षति भएका संरचनाको पुनर्निर्माण कार्य पनि जारी रहेको मन्त्री पौडेलले जानकारी दिए। तर ठूलो क्षति भएका कारण वेसिशहर मनाङ्ग सडक, अरनिको राजमार्ग सडक, बाजुराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा लगायतका स्थानमा अवरुद्ध सडक अझै अवरुद्ध रहेकाले ती सडकखण्ड खोल्ने प्रयास जारी र सेती दोभान लगायत मुग्लिन नारायणगढ सडकका विभिन्न स्थानमा झरेको पहिरो हटाई यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
मन्त्री पौडेलले गतवर्षको पहिरोबाट क्षति भएका सिन्धुपाल्चोक, कालिकोट, पर्वत, म्याग्दी, संखुवासभा लगायत १३ जिल्लाका विभिन्न स्थानहरुको भौगर्भिक अध्ययन गरि पुनर्निर्माण, पुनस्थापना र जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने प्रक्रिया पनि थालनी भएको बताए।





























प्रतिक्रिया