जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। अब प्रतियोगितामा मात्र ३ खेलहरु बाँकी छन्। यसपटक इटाली, इंल्यान्ड, स्पेन र डेनमार्कले अन्तिम ४ मा स्थान बनाएका छन्।
हालसम्म युरोकप २०२० मा ४८ खेल सकिएका छन्, जसमा कूल १ सय ३५ गोल भएको छ । यस संस्करणमा ‘गोल्डेन बुट’ अवार्डको दाबेदारको शीर्षस्थानमा क्रिस्टियानो रोनाल्डो र प्याट्रिक शिक रहेका छन्। दुई जनाले समान ५–५ गोल गरेका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले चार खेलमा पाँच गोल गर्दै आफूलाई अवार्डको हकदारका रुपमा अगाडि राखेका छन्। भने चेक रिपब्लिकका प्याट्रिक शिकले पाँच खेलमा पाँच गोल गर्दै अवार्डको हकदार बनेका छन् । तर, रोनाल्डो र शिक दुवैको टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् । रोनाल्डोको टिम पोर्चुगल नकआउट चरणबाटै बाहिरिएको थियो । शिकको टिम चेक भने क्वाटरफाइलबाट बाहिरिएको थियो । समान गोल गरेको अवस्थामा असिस्ट गोल संख्याले सर्वाधिक गोलकर्ताको छिनोफानो हुनेछ ।
यस्तै, इंल्यान्डका कप्तान ह्यारी केन र रहिम स्ट्रर्लिङ पनि गोल्डेन बुटको दौडमा रहेका छन्। उनीहरुले समान ३–३ गोल गरेका छन् । अबको दुई खेलमा यी खेलाडीलाई आफ्नो गोलसंख्या बढाउने अवसर रहनेछ । फ्रान्सका करिम बेन्जिमा,बेल्जियमका रोमेलु लुकाकु, स्वीडेनका इमिल फोर्सवर्गले चार गोल गरे पनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।
आज हामी गोल्डेन बुटका दाबेदार चार खेलाडीको बारेमा चर्चा गर्न गइरहेका छौंः
१. क्रिस्टियानो रोनाल्डो
साविक विजेता पोर्चुगल १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणबाटै बाहिरिसकेको छ । पोर्चुगलले समुह चरणका तीन तथा नकआउट एक गरी जम्मा चार खेल खेल्यो, जसमा टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले भने पाँच गोल गर्दै आफूलाई गोल्डेन बुट अवार्डको दाबेदारको रुपमा राखेका छन्।
पोर्चुगलले समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरेका थिए, जसमा एक गोल पेनाल्टीमार्फत् गरेको थियो।
समूह चरणको दोस्रो खेलमा भने पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भयो। चार गोल खाएको पोर्चुगलले दुई गोल भने आफ्नै डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोलबाट पाएको थियो। तर, पोर्चुगलका लागि रोनाल्डोले यस खेलमा पनि एक गोल गरे। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरीमा खेल्यो, जसमा दुवै गोल रोनाल्डोले गरेका थिए। नकआउट चरणमा भने रोनाल्डोको टिम बेल्जियमसँग १–० गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरियो।
चार खेलमध्ये तीन खेलमा पाँच गोल गरेका ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाए। रोनाल्डोले यसअघि चार संस्करणको युरोकप खेलिसकेका छन्। रोनाल्डोले पहिलोपटक सन् २००४ को युरोकप खेलेका थिए। त्यसपछि उनले सन् २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन्। सन् २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो। यस्तै, उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडीसमेत बने। रोनाल्डोले डेब्यु संस्करणमा दुई गोल गरेका थिए। त्यसपछिको तीन संस्करणमा क्रमश १, ३ र ३ गोल गरेका छन्।
२.प्याट्रिक शिक
रोनाल्डोपछि पाँच गोल गर्ने अर्का खेलाडी हुन्, प्याट्रिक शिक । जारी युरोकपमा चेक रिपब्लिकका प्याट्रिक शिकले ५ गोल गरेका छन् । तर, पाँच खेल खेलेको चेक रिपब्लिक क्वाटरफाइनबाट बाहिरि सकेको छ ।
आफ्नो पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० गोल अन्तरले पराजित ग¥यो। चेकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरेका थिए। दोस्रो खेलमा भने चेक क्रोसियासँग १–१ गोलको बराबरीमा रोकियो। तर, चेकतर्फको एक खेल भने शिकले नै गरेका थिए। उनले पेनाल्टीमार्फत् गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा भने चेक इंल्यान्डसँग १–० गोल अन्तरले पराजित भयो।
यस्तै, नकआउट चरणमा चेकले नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित ग¥यो। चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक–एक गोल गरे। तर, चेक क्वाटरफाइनलमा डेनमार्कसँग २–१ गोल अन्तरले पराजित हुदै घर फर्कियो । तरपनि शिक जारी युरोकपमा पाँचौं गोल दर्ता गराउँदै गोल्डन बुट अवार्डको हकदार भने बनेका छन् ।
३. ह्यारी केन
गोल्डेन बुट अवार्डका लागि रोनाल्डो र शिकलाई पछ्याइरहेका अर्का खेलाडी हुन्, ह्यारी केन। इंग्ल्यान्डका प्रमुख स्ट्राइकर तथा कप्तान ह्यारी केन पनि जारी युरो कपको गोल्डेन बुट दाबेदार हुन् । पाँच खेलमा इंग्ल्यान्डले गरेको ८ गोलमध्ये ३ गोल भने ह्यारीको नाममा छ।
शनिबार राति इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित बनाइसकेका छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुग्नुमा ह्यारी केनको महत्वपूर्ण भूमिका रह्यो।
इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तर पराजित गरेको थियो जसमा ह्यारीले व्यक्तिगत दुई गोल गरेका थिए । आफ्नो पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंल्यान्डले दोस्रो खेलमा भने स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा इंल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराउदा ह्यारी बारम्बार गोल गर्नबाट चुकेका थिए।
यस्तै, नकआउट चरणमा भने ह्यारी पहिलो पटक गोल गर्न सफल भए । नकआउट चरणमा इंल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दा ह्यारी केन र रहिम स्ट्रर्लिङले एकएक गोल गरेका थिए।
पछिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता बनेका केनले युरोकप छनोटमा समेत १२ गोल गरेका थिए । यस्तै उनी इंग्लिस प्रिमियर लिगको पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता समेत हुन्। जसमा ह्यारीले २३ गोल गरेका थिए।
४. रहिम स्ट्रर्लिङ
५५ वर्षपछि उपाधि दाबेदार जर्मनीलाई नकआउट चरणमा पराजित गर्दै इंल्यान्ड क्वाटरफाइनल हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि इंल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो। इंल्यान्ड सेमिफाइनलमा प्रवेश गर्नुमा रहिम स्ट्रर्लिङको महत्वपूर्ण भूमिका रह्यो।
जारी युरोकपमा इंल्यान्डले पाँच खेलमा आठ गोल गरेको छ। जसमध्येको तीन गोल रहिम स्ट्रर्लिङले गरेका हुन्, जसका कारण स्ट्रर्लिङलाई गोल्डेन बुट अवार्डको दाबेदार मान्न सकिन्छ।
इंल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। दोस्रो खेलमा भने इंल्यान्डले स्कटल्यान्डसँग गोलरहित बराबरी खेल्यो।
समूह चरणको अन्तिम खेलमा इंल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराउँदा स्ट्रर्लिङकै गोल निर्णायक बन्यो। यस्तै, क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा इंल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एकएक गोल गरे।
यस्तै इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई फराकिलो गोल अन्तरले हरायो । युक्रेनलाई ४–० गोल अन्तरले हराउदा इंग्ल्यान्डका स्ट्रर्लिङ भने गोल गर्न असफल भए । स्ट्रर्लिङले गोल गर्ने अपेक्षा फुटबल प्रशंसकले गरेका थिए । स्ट्रर्लिङ युक्रेनविरुद्ध गोल गर्न सफल भएका भए अझै उनी गोल्डेन बुट अवार्ड नजिक पुग्ने थिए । अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ । यस खेलमा स्ट्रर्लिङले गोल गर्न सके रोनाल्डो र शिकलाई पछि पार्न सक्नेछन् ।
२६ वर्षे रहिम स्टर्लिङले जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । स्टर्लिङले यसअघि गोल्डेन ब्वाई अवार्ड समेत हात पारिसकेका छन् । स्टर्लिङले इंग्ल्यान्डको लागि १७ गोल पुर्याएका छन्।































प्रतिक्रिया