हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
जनता समाजवादी पार्टी (जसपा)का दुई पक्ष अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष आ–आफ्नो बाटो अलग अलग भएर हिँड्ने गरि सहमत भएका छन्। मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबैपक्ष पार्टी एकताको सट्टा फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन्। मंगलबार आयोगले सहमतिका लागि जसपाका दुवै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुवै पक्षले आफ्नो दावी नछोडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन आग्रह गरेको छ ।
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति नगरी स्थगित भएको छ। सिंहदरबारमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए। केही दिनमै ठोस परिणाम आउने भनिएको कार्यदल बैठक भोलि फेरि ८ बजे बस्ने गरि स्थगित भएको पनि कार्यदल सदस्यहरूले जानकारी दिए।
सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना जारी गरेको थियो। तर, सूचना अनुसारको खोप केन्द्रहरूमा व्यवस्थापन र खोपको उपलब्धता नहुँदा सर्वसाधारण तथा वृद्धवृद्धाहरूले लाइन बसेर दुःख मात्र पाएका छन्। घन्टौं लाइनमा बसेर पनि खोप नपाउँदा उनीहरू सरकारसँग आक्रोशित बनेका छन् भने, ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराएका छन्।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको प्रहरी टोलीले दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उक्त गिरोहबाट प्रहरीले थुप्रै अबैध सामग्री तथा हातहतियार पनि बरामत गरेको प्रहरीले जनाएको छ। यसैबीच मंगलबार नै महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा निषेधाज्ञाका बीचमा चोरी भएका ४० बढी मोटरसाइकल बरामत गरि सम्बन्धीत धनिहरूलाई फिर्ता गरेको छ।
युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटाली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। आजको दुई ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।































प्रतिक्रिया