रोबर्टो मानचीनिः मैदानबाहिरका योद्धा

रोबर्टो मानचीनिः मैदानबाहिरका योद्धा

केन्द्रबिन्दु
0
Shares

अघिल्लो साता जारी युरोकपमा बेल्जियमलाई पराजित गरेपछि रोबर्टो मानचीनि खुसीको उन्मादमा थिए। प्रशिक्षक मानचीनिको टोली इटालीले प्रतियोगिताको प्रमुख दाबेदार तथा विश्वको पहिलो नम्बरको टोली बेल्जियमलाई पराजित गरेको थियो। 

यस जितले इटालीलाई सेमिफाइनलमा मात्र पुर्याएको थिएन, बेल्जियमलाई पन्छाएपछि आफैंलाई अब प्रतियोगिताको पहिलो हकदारका रूपमा उभ्याएको थियो। जितपछि मानचीनिले आफ्नो टोली अन्तिम चारमा पुग्न हकदार रहेको बताए। र, यूरोपका ठूला टोलीलाई हराउन सकेकोमा निकै गर्व महसुस गरे। 

इटालीका अगाडि बेल्जियम खेलभरि फिक्का सावित भयो। आखिर मानचीनिले कसरी इटालीलाई यति बलियो बनाए? इटाली त्यही टोली थियो, जो युरोपमै भएको विश्वकप २०१८ का लागि छानिएको थिएन। 

अहिले मैदानमा इटालीको टोली विपक्षीविरुद्ध त्यही बदलाको भावले खेलिरहेको महसुस हुन्छ। विश्व फुटबलको बादशाह राष्ट्र भएर पनि विश्वकपमै नचुनिनुको पीडा स्वयं इटालीलाइ जति थाहा कसलाइ होला र! 

यस्तोमा इटालीको टोली सम्हाल्न आएका थिए, ५६ वर्षीय मानचीनि। उनले टोली सम्हाले यता इटालीले मैदानमा साँच्चै नै दन्त्यकथाजस्तो खेल देखाइरहेको छ। किनभने, पछिल्लो लगातार ३१ खेलमा इटाली पराजित भएको नै छैन। 

मानचीनिको जादू
मानचीनिले सन् २०१८ मा इटाली सम्हाल्दा टिम अस्तव्यस्त थियो। टोलीमा बूढा खेलाडीको बाहुल्य थियो भने युवा खेलाडीले मौका नै पाइरहेका थिएनन्। 

यस्तोमा मानचीनिले पहिलो लक्ष्य युरोकप २०२० लाई बनाए। उनले इटालीको सिरिआ र अन्य युरोपेली लिगमा उत्कृष्ट फुटबल खेलिरहेका युवा टोलीलाइ राष्ट्रिय टोलीमा मौका दिने योजना बनाए। 

त्यसपछि सुरु भयो मानचीनिको राष्ट्रिय फुटबल टोलीमा क्रान्ति। उनले अनुभवी र युवा खेलाडीको टोली यसरी तयार पारे कि इटालीले त्यसयता खेलेका लगातार ३१ खेलमा पराजय भोग्नु परेको छैन।

उनकै सोचको कारण आज इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा उसले प्रतियोगिताको अर्को बलियो टोली तथा पूर्वच्याम्पियन स्पेनलाई पराजित गरेको छ। 

त्यसैले पनि यसपटक इटाली अब प्रतियोगिता जित्ने प्रमुख दावेदार राष्ट्र हो भन्दा फरक नपर्ला। जारी युरोकपमा की रहेका राष्ट्रमध्ये विश्व वरियतामा इटाली नै सबैभन्दा माथि छ। 

मानचीनि यतिबेला विश्व फुटबलमा इटालीको पुरोनो इतिहास फर्काउने दाउमा छन्। सन् २००६ को विश्वकपपछि इटालीले कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। 

आफ्ना समकक्षी प्रशिक्षक माझ मानचीनिको छवि एक आनन्दायी मानिएको छ। उनी धेरै रिसाउँदैनन्, धेरै खुसी हुँदैनन् र धेरै बोल्दैनन् पनि। उनी जे जति गर्छन, सबैको ठिक्कको मात्र गर्छन्। त्यसैले त भन्न सकिन्छ, यसपटक उनको टोली इटालीले ठिक्कको फुटबल खेलेर युरोकपको उपाधि जित्ने प्रमुख राष्ट्रका रुपमा आफूलाई उभ्याएको छ। 

मानचीनि यतिबेला विश्व फुटबलमा इटालीको पुरोनो इतिहास फर्काउने दाउमा छन्। सन् २००६ को विश्वकपपछि इटालीले कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। 

ठिक्कको खेल अर्थात् विपक्षीविरुद्ध धेरै गोल पनि नगर्ने र आफू पनि विपक्षीलाई धेरै गोल हान्नै नदिने। यसको मतलव, आक्रमण र डिफेन्सको सन्तुलन। मैदानका सबै क्षेत्रमा इटालीको टोलीले यस्तै देखिएको छ। 

मानचीनिलाई विश्व फुटबलले एक राम्रा प्रशिक्षकका रुपमा चिनिसकेको छ। तर, अब उनी राम्रा प्रशिक्षक मात्र रहने छैनन्, महान् प्रशिक्षक बन्ने सुरु कस्दैछन्। इटालीले युरोकप २०२० को उपाधि जिते विश्व फुटबलले उनलाई महान् प्रशिक्षकका रुपमा चिन्ने पक्का छ। 

राम्रा प्रशिक्षकले औसत खेलाडीलाई अब्बल बनाउन सक्छन्। तर महान् प्रशिक्षकले आफैंले औसतबाट अब्बल बनाएका खेलाडीबाट ठूला प्रतियोगिताको उपाधि जित्ने गर्छन्। मानचीनि अहिले यही बाटोमा छन्। 

युरोपेली क्लब फुटबलका क्षेत्रमा पनि मानचीनिले आफूलाई अब्बल सावित गरिसकेका छन्। सन् २०१० को दशकमा म्यानचेस्टर युनाइटेड र चेल्सीको दबदबा रहेको समयमा म्यानचेस्टर सिटीबाट इंग्लिस प्रिमियर लिगको उपाधि जित्नु सानो काम थिएन। मानचीनिले यो पनि गरे । उनले सिटीलाई दशकौंपछि प्रिमियर लिगको उपाधि जिताएका थिए। 

मानचीनिको टोलीबाट खेल्ने हो भने सुरुमा मानचीनिलाई नजिकबाट चिन्नुपर्छ। अक्सर खेलाडी जो उनको टोलीबाट खेल्छन्, ती खेलाडी यस्तै धारणा राख्छन्। किनभने, मानचीनि आफूले सोचेका कुरा आफ्ना खेलाडीबाट मैदानमा निकाल्नसक्ने प्रशिक्षक हुन्।

यदि कुनै खेलाडीले मानचीनिलाई चिन्न सकेन भने उसले कुनै पनि टोलीबाट मानचीनिका लागि खेल्न पाउने छैन, चाहे त्यो क्लबमा होस् या राष्ट्रिय टोलीमा। त्यसैले मानचीनिलाई कठोर प्रशिक्षक मान्नेको भिंड पनि सानो छैन। 

सन् २०१० को दशकमा उनले म्यानचेस्टर सिटीमा जे बदले, अहिले इटालीको टोलीमा पनि तिनै कुरा बदलिएका छन्। यतिसम्मकि, टोलीको अभ्यास साँझको समयबाट दिउँसो मध्य घाममा सारियो, खेलाडीले खाने डाइटमा बदलाव ल्याइयो र खेलाडीको सुत्ने, उठ्ने समयमा पनि ध्यान दिन थालियो।   

यी सबै कुरा सिटीमा लागू गरेर सफलता कमाएका मानचीनिले अहिले इटालीको राष्ट्रिय टोलीमा पनि यही कुरा गरिरहेका छन्। त्यसो त जारी युरोकपमा इटालीले पनि माथिल्लो स्तरको प्रदर्शन गरिरहेको छ। 

आफ्ना खेलाडीलाई मानचीनि सोध्ने गर्छन्–खेलका क्रममा तिम्रो टेकनिक तिमी आफैंले देखेउ? यदी देखेनौ भने तिमीले मैदानमा राम्रो खेलेनौं। यति भएपछि खेलाडी पनि अब्बल खेल देखाउन बाध्य हुने भयो। आफ्ना खेलाडीबाट राम्रो खेल निकाल्ने यो आफैंमा मानचीनिको टेकनिक थियो। 

मानचीनिका यिनै विशेषताले गर्दा पनि यसपटक इटालीले युरोकप जित्नेमा धेरै ढुक्क छन्। अघिल्लो विश्वकपमा छनोट हुन नसकेको, टोलीमा कुनै सुपरस्टार खेलाडी नभएको र औसत टोली पनि मैदानमा अब्बल हुन्छ भन्ने प्रमाणित यसपटक मानचीनिमार्फत् इटालीको राष्ट्रिय टोलीले गर्दैछ भन्दा गलत नहोला।

Skip This
Skip This
Logo