पाँचखाल नगरपालिका–७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो। ६ देखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ।
कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएका यस क्षेत्रमा मिर्गाैला विक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन् उनीहरु । होस–बेहोसमा हुने उनीहरु “हाम्रो फोटो र भिडियो लिएर जाने र पैसा कमाउने हामीलाई केही नदिने ?” भन्दै आक्रमणमा उत्रिएका थुप्रै घटना छन् । जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।
विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । १९ वर्षअघि मिर्गाैला बेचेका मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गाैला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गाैला बेचेर आएको पैसा पनि सकेर जमिन पनि बिक्री गरेको बताउँछन्। “अहिले त मैले रक्सी छाेडिसके, अब हामी मिर्गाैला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने। उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गाैला बेच्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन्।
“मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन, अनि यो भन्दा दुःखदायी के हुन्छ अब ? नवराज मिजारले दुखेसो पोखे। अझ उनी जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गाैला बेच्दा पेटको बाँयातर्फ शल्यक्रिया गरेको आठ इन्चको खतसमेत देखाउने गर्छन्। उनलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गाैला बेच्न बाध्य पारेको थियो। दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गाैला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीका दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो। स्वेच्छाले मिर्गाैला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन्। एक पीडितका अनुसार मिर्गाैला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलायो।
यी समुदायमा कुनैपनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन। नेपाल नाजेरत सोसाइटी नामक संस्थाले हालै जोरपीपल क्षेत्रमा निःशुल्क बाख्रा वितरण गरेको सयमध्ये ३० मिर्गाैला बेच्ने परिवारले पाए । वडाध्यक्ष पुष्कर ढकालले विभिन्न निकायबाट चालु आर्थिक वर्षको शुरुमा पाँचखाल नगरमा आएको लक्षित समुदाय विकास कार्यक्रमअन्तर्गत करिब ८० मिर्गाैलापीडितलाई प्रदान गरिने निर्णय गरे पनि आवको अन्त्यमा अन्यत्रै लगिएको बताए। उनका अनुसार वडामार्फत गत वर्ष भने मिर्गाैला बेचेका ८४ परिवारलाई मौरीघार वितरण गरिएको थियो।
काभ्रेबाट केही वर्षदेखि मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए। केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपीआर)को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गाैला बेचेको उल्लेख गरेको छ। यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ।
काभ्रेको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गाैला तस्करी हुने गरेको थियो । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गाैला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । काभ्रे प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानूनी कारवाही गरेको थियो ।
मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजायँ हुनेछ। पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी ब्यवस्था छ।रासस































प्रतिक्रिया