मेलम्चीको एक झड्काले सुकुम्बासी बनेका हेलम्बुबासीको कारुणिक रोदन

मेलम्चीको एक झड्काले सुकुम्बासी बनेका हेलम्बुबासीको कारुणिक रोदन

केन्द्रबिन्दु
0
Shares

बेसीमा सडक विस्तार भएसँगै गाउँको जग्गा बेचविखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्बासी भएका छन् ।

सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका–२, ढोडेनीबाट बेसी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्बासी जस्तै भएका छन् । बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन् ।

छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र हैन छोरा छोरीलाई राम्रो पढाउने सपनासमेत बाढीले बगाएको छ । धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढिले घर सँगै गरिखाने १५ रोपनी खेत बगाएको छ ।

अहिले तत्काल त दाताले दिएको राहत बाट पेट पालिएला, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान(बच्च लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन् ।

चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको दुखेसो पोख्छिन् । असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबारविहीन अवस्थामा पुगेकी छन् ।

जीवन भरी कमाएको बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थीरमा छैन । यसैवर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई तलाको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Skip This
Skip This
Logo