हाइटीमा राष्ट्रपति जोभेनेल मोसेको हत्यापछि विशाल प्रदर्शन भइरहेका छन्। यहाँका नागरिक यो हत्याकाण्डमा कसको संलग्नता छ भनेर यकिन हुन चाहिरहेका छन्। अन्तरिम प्रधानमन्त्री र प्रहरी प्रमुखले शान्त रहन आग्रह गरे पनि आक्रोशित नागरिकले विरोध प्रदर्शन गर्न छाडेका छैनन्।
हाइटीमा राष्ट्रपति हत्याको घटना यो पहिलो भने होइन। हाइटी सन् १८०४ मा स्वतन्त्र भएपछि नै पहिलो राष्ट्रपति डेसालिनेस जिन ज्याकको हत्या गरियो। यस्तै, सन् १९१५ मा राष्ट्रपति साम भिलब्रनले पाँच महिना मात्रै शासन चलाउन पाए र उनको पनि हत्या भयो।
उनीभन्दा पहिले नै सन् १८८६ मा प्रमुख बनेका जनरल सालोमन कार्यकालको दुई वर्षमै मारिए। यस्तै, सन् १९१२ मा जनरल सिनसिनाटस लेकोन्टे पनि मारिए। उनको हत्या भने कार्यालयमै भएको थियो। उनी सन् २०११ मा नेतृत्वमा पुगेका थिए। यस्तै जनरल ट्रान्क्रेड अगस्टको पनि १९१३ मा कार्यालयमै हत्या गरियो। उनी पनि कार्यकालको एक वर्षपछि नै मारिएका थिए।
यसरी हाइटीको इतिहासमा राष्ट्रपति तथा सैनिक शासकहरू विभिन्न कालखण्डमा विदेशी तथा स्वदेशी समूहबाट मारिएका छन्। हाइटीको इतिहासमा हालसम्म ८ जनाले मात्रै पूर्ण कार्यकाल चलाउन पाए। राष्ट्रपति मोसेको हत्यासँगै यो मुलुक फेरि हिंसात्मक राजनीतिको अर्को सुरुङमा छिरेको विश्लेषण हुन थालेको छ।
हतियारधारी समूहले बुधबार बिहानै राजधानी पोर्ट औं प्रिन्सस्थित निवासमा प्रवेश गरेर गोली प्रहार गरि राष्ट्रपति ५३ वर्षीय मोसेको हत्या गरेको हो। शरीरमा १२ वटा गोली लागेको अवस्थामा निवासमै लडिरहेको अवस्थामा मोसेलाई प्रहरीले फेला पारेको थियो। उक्त घटनामा राष्ट्रपति पत्नी मार्टिन घाइते भएकी थिइन्। उनलाई उपचारका लागि फ्लोरिडास्थित अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीले जनाएका छन्। छोराछोरी भने सुरक्षित नै रहेको बताइएको छ।अन्नपूर्णबाट































प्रतिक्रिया