नेपालमा चिनियाँ कम्पनी सिनोफार्म र कोभ्याक्स सुविधामार्फत तत्काल लाखौं डोज खोप नेपाल ल्याउने तयारीमा सरकार लागेको छ।
सिनोफार्ममार्फत भेरोसेल खोप र कोभ्याक्स सुविधामार्फत कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरि विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खोप नेपाल भित्र्याउन लागिएको हो।
चीन सरकारको अनुरोधमा नेपाल सरकारले ४० लाख डोज खोप खरिद प्रक्रिया सकेको छ। उक्त सम्झौताको पहिलो चरणमा चीनले नेपाललाई ८ लाख डोज खोप पठाइसकेको छ। चिनियाँ कम्पनी सिनोर्फमको उक्त खोप नेपाल आइसकेको छ।
शुक्रबार बिहान उक्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको जहाजमार्फत नेपाल भित्रिएको हो। अहिले उक्त खोप नेपालकै पहिलो सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको भण्डारण स्थलमा राखिएको छ।
पहिलो चरणमा चीनले ८ लाख डोजमात्रै खोप पठाए पनि यसपछि कति मात्रामा खोप नेपाल पठाउँछ, टुंगो छैन। यदि लाखौं डोज चीन, कोभ्यास सुविधा र अन्य मुलुकबाट खोप नेपाल भित्रियो भने नेपालमा भण्डारण गर्न सकिने अवस्था छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘चीन र कोभ्याक्स सुविधामार्फत लाखौं खोप आउने तयारी छ। यदि एक–एक हप्ताको अन्तरालमा खोप आयो भने भण्डारणमा समस्या हुँदैन, तर एकैपटक सबै खोप आए भण्डारण गर्न असहज हुन्छ।’
‘नेपालमा आजसम्म २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोप मात्र आएका छन्। अहिलेसम्म आएका भारत, चीन र कोभ्याक्समार्फतका खोप पनि ० देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिनेछ।
० देखि ८ डिग्रीमा भण्डारण गर्न सकिने भएपनि सीमित स्रोत र साधनका कारण भण्डारण गर्ने क्षमता नेपालसँग कम छ। यदि यो भन्दा कम तापक्रममा राख्ने खोप ल्याइयो भने झन समस्या हुन्छ’, उनले भने।
तर, यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रवक्ता डा.जागेश्वर गौतम भने प्रदेशमा पनि भण्डारण केन्द्र भएका कारण जहाँबाट जति खोप आएपनि भण्डारणमा समस्या नहुने बताउँछन्। ‘हामीले प्रदेशमा पनि भण्डारण केन्द्र बनाएका छौं, खोप जति आएपछि राख्न सकिन्छ’, उनले भने।
अहिले चीन र कोभ्याक्स सुविधामार्फतको खोपमात्रै सरकारले ल्याउने तयारी गरिरहेको छ। यता भारतले खोप निर्यातमा रोक लगाएपछि तत्काल भारतबाट खोप आउन सक्ने सम्भावना छैन।
नेपालले चीनबाट भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरीद गर्ने प्रक्रिया अघि बढाएको भएपनि अमेरिकाबाट पनि अहिले खोप आउने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
यस्तै बेलायत, रुस, युरोपियन युनियनबाट पनि खोप ल्याउने पहल थालिएको भएतापनि त्यहाँबाट पनि तत्काल खोप आउने सम्भावना कम छ। अहिले विश्वबजारमा खोप निर्माणभन्दा माग बढी भएका कारण त्यो समस्या आएको प्रवक्ता पौडेलले बताए।
यता कोभ्याक्स सुविधा भने कोभिड–१९ को परीक्षण, उपचार र खोपको विकास, उत्पादन र समतामूलक पहुँचलाई गति दिने विश्वव्यापी सहकार्य दिने गरि यसको गठन भएको हो।
कोभ्याक्स फसिलिटीले उपयुक्त खोप उत्पादनको पहिचान गरि निरन्तर कोभिड–१९ खोपको विकासलाई नियाल्ने गरेको छ। कोभ्याक्समार्फत अहिलेसम्म नेपालमा तीन लाख ४८ हजार डोज खोपमात्र नेपाल आएको छ।
अर्कातिर सरकारले ४० लाख डोज खोपको सम्झौता गरेको चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप भने मूल्य गोप्य राखिने गरि नन् डिस्क्लोजेवल एग्रिमेन्टमार्फत आउन लागेको हो।
नेपालमा मात्र होइन, चीन सरकारले अहिले नेपालसहित अन्य धेरै मुलुकमा एनडीए शर्तसहित खोप बिक्री गरिरहेको छ।
नेपालमा कति जनाले लगाए कोभिड विरुद्धको खोप?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २४ गतेसम्मको तथ्यांकअनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोभिड खोप लगाइसकेका छन्।
जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ लाख ५९ हजार ९५४ जनाले लगाएका छन्। हालसम्म नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको मात्रै प्रयोग भएका छन्।































प्रतिक्रिया