कोपा अमेरिका फूटबल प्रतियोगितामा कोलम्बियाले तेस्रो स्थान पाएको छ। आज बिहान सम्पन्न खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो।
ब्रजिलको स्टाडियो नेशनल डि ब्रासिलियामा भएको खेलमा कोलम्बियाका लागि लुइस डियाजले २ तथा जुआन कौड्राडोले १ गोल गरेका थिए।
पेरुले खेलको ४५ औँ मिनेटमा योशिमार योटुनको गोलबाट अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा चौथो स्थानमा चित्त बुझाएको छ। खेलको ४९ औँ मिनेटमा कौड्राडोले गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
६६ औँ मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए भने पेरुका जियानलुका लापाडुलाले ८२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए ।
थपिएको समयको अन्तिम मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बिया ३–२ गोलको जीत निकाल्न सफल भयो। तेस्रो बन्न सफल कोलम्बियाले ३० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।
कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान पौने ६ बजे ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्।































प्रतिक्रिया