वाग्मती प्रदेशसभाको आइतबार अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजित विधेयक २०७८ बहुमतले पारित गरेको छ।
बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पनि बहुमतले पारित गरेको छ।
सो बैठकमा विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमा आइतबार छलफल सम्पन्न भयो। बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रालय र प्रदेश नीति योजना आयोगसँग सम्बन्धित छलफलमा उठेका राष्ट्रिय सरोकारका विषयमा जवाफ दिँदै कोभिड संक्रमणबाट पीडित सबै प्रदेशवासीलाई अनिवार्य रुपमा खोप लगाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
सोही बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपाल, कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जवाफ दिएका थिए।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार २८ गते (आज) बिहान ८ बजे बस्ने जानकारी दिए।
विनियोजित बजेटमाथि छलफल प्रारम्भ
वाग्मती प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ।
बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभाका सदस्यले सरकारलाई बजेट विनियोजन गर्ने क्रममा पुनः आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गरे।































प्रतिक्रिया