घिउ-तेलको मूल्य ३१ प्रतिशतसम्म बढेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको जेठसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठमा घिउतेलको मूल्य ३०.९८ प्रतिशतले बढेको उल्लेख छ।
कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाकै अवधिमा खासगरी खानेतेलको मूल्य अत्यधिक बढेको थियो। राष्ट्र बैङ्कले गत आर्थिक वर्ष २०७६/७७ को जेठको तुलनामा चालू आवको जेठसम्म खाद्य तथा पेय पदार्थको मूल्य ६.२२ प्रतिशतले बढेको जनाएको छ। यद्यपि गैरखाद्य तथा सेवा समूहको भने २.६६ प्रतिशतमा मूल्य वृद्धिदर रहेको प्रतिवेदनमा उल्लेख छ।
घिउतेलबाहेक खाद्यतर्फ सुर्तीजन्य पदार्थको ९.८४, गैरमदिराजन्य पेय पदार्थको ९.८१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यातायात क्षेत्रको मूल्यवृद्धि भने ९.७० प्रतिशत रहेको छ। समग्रमा जेठमा उपभोक्ता मूल्यवृद्धि ४.१९ प्रतिशत रहेको देखाइएको छ। गत जेठमा यस्तो वृद्धिदर ४.५४ प्रतिशत थियो।
क्षेत्रगत हिसाबले हिमालमा सबैभन्दा कम मूल्य वृद्धि भएको देखिएको छ। प्रतिवेदनअनुसार हिमालमा १.७२ प्रतिशत मात्र मूल्यवृद्धि हुँदा काठमाडौँ उपत्यकामा ३.८७, पहाडमा ४.३२ र तराईमा ४.४७ प्रतिशत मूल्यवृद्धि भएको छ।































प्रतिक्रिया