सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवालाई निकटतम छिमेकी मुलुकका भारतीय समकक्षीले अझै बधाई तथा शुभकामना व्यक्त गरेका छैनन्।
यसअघि नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै भारतीय समकक्षीले सामाजिक सञ्जाल तथा टेलिफोनबाट बधाई तथा शुभकामना व्यक्त गर्ने गर्थे। यसपटक भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म सामाजिक सञ्जाल वा टेलिफोनबाट बधाई दिएका छैनन्। देउवाले संसदबाट विश्वासको मत लिएपछि मात्र भारतले विश्वासको मत दिने स्रोतले जनाएको छ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई नपठाउनुले भारत देउवाप्रति खुसी नरहेको भन्ने अर्थमा लिन सकिने बताउँछन्। ‘संविधानको धारा ७६ (१) वा (५) अनुसार होस्, प्रधानमन्त्री त प्रधानमन्त्री हो नि, भारतले बधाई दिन आवश्यक थियो,’ उनले भने।
विश्वभर नै राष्ट्रपति र प्रधानमन्त्री नियुक्त भएपछि छिमेकी तथा अन्य मुलुकले बधाई दिने चलन छ। यसअघि, नेपालका नवनियुक्त प्रधानमन्त्रीहरूलाई विभिन्न मुलुकका समकक्षीबाट शुभकामना तथा बधाई आउने गरेको थियो।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएकी छन्। तथापि, चिनियाँ समकक्षीले देउवालाई बधाई दिएका छैनन्। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भने बिहीबार नै देउवालाई भेटेर बधाई ज्ञापन गरिसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि चीनका प्रधानमन्त्री लि केकियांगले शुभकामना सन्देश पठाएका थिए। त्यस्तै, भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आएर प्रधानमन्त्री ओलीलाई बधाई दिएकी थिइन्। भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत् ओलीलाई बधाई ज्ञापन गरेका थिए।
त्यसबेला ओलीलाई अन्य दर्जनौ मुलुकले बधाई–शुभकामना दिएका थिए। राजदूत मार्फत नभएर उनीहरुले सोझै प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए।





























प्रतिक्रिया