काेभिड महामारीबीच खेलकुदको महाकुम्भ ‘टोकियो ओलम्पिक’ आजदेखि सुरु

काेभिड महामारीबीच खेलकुदको महाकुम्भ ‘टोकियो ओलम्पिक’ आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

काेभिड-१९ महामारीबीच विश्व खेलकुदको महाकुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार) बाट जापानमा सुरु हुँदैछ।

जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिकरुपमा सुरु हुने भएको हो। केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भइसकेको छ। 

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछ। महामारीका कारण स्वास्थ्य प्राेटाेकल अपनाएर कार्यक्रम गरिने आयाेजक कमिटीले जनाएकाे छ ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । टोकियो ओलम्पिकमा २ सय ७ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

नेपालबाट ५ खेलाडीसहित २३ सदस्य टोली टोकियो पुगिसकेका छन् । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् । नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल रहेका छन्।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन्। सबै खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन्। 

आगामी अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन्।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालिटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन्।

गौरिकाले महिला १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।

Logo