भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त भइरहेका छन्।
विशेष गरि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनसँगै विप्लवले अन्य राजनीतिक दलका नेताहरुसँग भेट्ने क्रम तीव्र बनाएका हुन्। सोही क्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहानै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित थापा निवास बुढानिलकण्ठ पुगेका विप्लवले राप्रपाका अन्य नेताहरुसहित अध्यक्ष थापासँग भेट वार्ता गरेका हुन्। भेटमा उनले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको बैचारिक सहयोगको खुलेर प्रशंसा गरे।
उनले भने, 'भूमितगत कालमा राज्यले दमन गरेको बेला विप्लवदेखि राजासम्म अटाउनु पर्छ भनेर सार्वजनिक अपिल गरिदिएकोमा धन्यवाद। यसरी हाम्रो लागि पनि बोलिदिएर हामीलाई ठूलो भरोसा दिनु भयो।'
उनले देश कठिन अवस्थामा पुगेको र बैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकोले यस्तोमा सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नु पर्नेमा जोड दिए।
विप्लवले तत्कालीन प्रम केपी शर्मा ओलीसँगको तीन बुँदै सहमतिपछि खुल्ला राजनीतिमा आएपनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे। आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको भन्दै ओलीको बहिर्गमन भएपनि सम्झौता व्यक्तिसँग नभई राज्यसँग भएकोले अहिलेको सरकारले पनि सहमति कार्यान्वयन गरोस् भन्नेमा लागि परेको बताए। यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेका उनले बताए।
जवाफमा राप्रपा अध्यक्ष थापाले सरकारले विप्लवसँगको सहमति कार्यान्वयन हुनु पर्छ भन्ने राप्रपाको धारणा रहेको बताए। थापाले भने, तपाईंहरुसँग भेट्ने इच्छा थियो, आज भेट भयो, तपाईंहरुले उठाएको सवालमा राप्रपाको साथ र समर्थन छ। देशले निकास पाउनको लागि परिवर्तनकारी शक्ति र परम्परावादी शक्ति मिल्नु जरुरी छ।
जनमत संग्रहको कुराले होस् वा अन्य कुनै राष्ट्रिय सहमतिले विप्लवदेखि राजासम्म अटाउने राजनीतिक प्रणालीको विकास हुन पर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरे। बाह्य हस्तक्षेप तीव्र छ, र राष्ट्रियता, स्वाधीनता रक्षा गर्दै आफ्नो निर्णय आफैं गर्न सक्ने प्रणालीको विकास हुनु जरुरी छ, थापाले भने।
भेटमा प्रवक्ता प्रकाण्डले दश वर्षे जनयुद्धपछि जनताको शासन चाहे पनि अहिले पनि पूँजीपति र दलालहरुकै सत्तामा हालीमुहाली रहेको, जनताहरु अझै पीडित भएको र जनताको शासन स्थापना गर्न सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए।
भेटमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, बुद्धिमान तामाङ, सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, लुम्बिनी प्रदेश अध्यक्ष, प्रदीप उदय, मिडिया नेपालका अध्यक्ष तथा कार्यसम्पादन समिति सदस्य गोपाल पौडेलको समेत उपस्थित रहेको थियो।





























प्रतिक्रिया