नेम्बाङलाई धारा ७६ (५) किन लेख्नुभो भनी सोध्नेवाला थिएँ, हिँडिहाल्नुभोः प्रधानमन्त्री देउवा

नेम्बाङलाई धारा ७६ (५) किन लेख्नुभो भनी सोध्नेवाला थिएँ, हिँडिहाल्नुभोः प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संसदमा अनुपस्थित रहेकोमा व्यंग्य गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा धन्यवाद ज्ञापन गर्दै देउवाले प्रमुख प्रतिपक्ष दलका नेता तथा अन्य एमाले नेताहरू अनुपस्थित रहेकामा व्यंग्य गरेका हुन्। 

‘अहिले विपक्षी दलको नेता हुनुहुन्न, उपनेता तथा पूर्वसभामुखले पनि आफूले बोलेको कुरा नसुनी नयाँ संस्कृति थालेर हिँड्नु भयो,’ उनले भने, ‘यो संविधानमा ७६ (५) किन लेख्नुभयो भनी सोध्नेवाला थिए। उहाँ सभामुख हुनुहुन्थ्यो, उहाँले अब कहिल्यै यो संविधान भत्किनेवाला छैन, प्रतिनिधिसभा कहिले भंग हुने छैन भनी बोलेको म झल्झल्ती सम्झिरहेको छु।’

प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरूले बोल्दा पार्टीका सांसदहरू बैठकमा उपस्थित रहे पनि प्रधानमन्त्री देउवाले बोल्न सुरु गर्दा उनीहरू बाहिरिसकेका थिए।

नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिने संसद्को कार्यसूची रहेको थियो। एमालेको तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङले देउवालाई शुभकामना दिएका थिए।

नेम्वाङले आफू कानुनको विद्याथी रहेकोले प्रमाणसहित बोल्ने उल्लेख गर्दै नेपाली कांग्रेसले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेको जिकिर गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसो नगरेको जवाफ दिए। 

‘संविधानमै यस्तो किन लेख्नुभयो। यसको सम्पूण जानकारी उहाँ (नेम्वाङ)लाई थियो,’ उनले भने, ‘त्यसको स्पष्टीकरण दिनुपर्नेमा उल्टै कांग्रेसले ह्वीप लगायो भन्नुभयो। हामीले कहिल्यै ह्वीप लगाएका छैनौं। आफूले विश्वासको मत दिन अनुरोध मात्र गरेको उनको भनाइ छ। 

‘हामीले एमाले–माओवादी सबैलाई अनुरोध गरेका छौं, अनुरोध गर्न पनि नपाउने भनेर कहाँको संविधानमा लेखिएको छ,’ उनले थपे।

देउवाले राष्ट्रपति स्वयंले ७६ (५) अनुसार कुनै पनि सांसदले बहुमत पुर्याउनुहुन्छ भने आउनुहोस् भनी आह्वान गरेपछि मात्र आफूहरु गएको उनको जिकिर छ। उनले भने, ‘बहुमत सदस्यको हस्ताक्षर लिएर हामी शीतल निवास पुगेका हौं, उहाँले त्यसअनुसार मलाई प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत लिनु भन्नुपर्थ्याे।’ अन्य मुलुकमा यस्तो अभ्यास भए पनि राष्ट्रपति अवलम्बन नगरेको उनको विचार छ।

Skip This
Skip This
Logo