काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने बताएका छन्।
वडा नम्बर २१ को वडा भवनको सोमबार शिलान्यास गर्दै मेयर शाक्यले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा महानगरको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौं। यो हाम्रो घोषणा अनुसारकै कार्य हो।’
शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भइरहेको जानकारी दिए। ‘केही कार्यालय भवनको निर्माणकार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दैछौँ।’
उनका अनुुसार केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। ‘मुद्धा परेका कारण महानगरको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘हामीले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौँ। केही काम भने कानुनी र प्राविधिक कारणले समस्या भएको छ।’
काठमाडौँ महानगरमा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरेका छन्।
प्रमुख शाक्यले आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।
महानगरले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भइ सेवा प्रवाह सुरु भइसकेको छ । त्यस्तै वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ।
काठमाडौँ महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २२, २९, निर्माण प्रक्रियामा छन् भने वडा–१२, ३१, १६ को पनि प्रक्रिया अघि बढेको छ । अन्य वडा भवनको स्तरोन्नती गर्ने लगायतका प्रक्रिया अघि बढीरहेको छ।





























प्रतिक्रिया