काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध अर्को चरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरू घोषणा गरेको हो ।
घोषित नयाँ कार्यक्रम मध्ये माघ १९ गते भातृसंस्थाहरूको देशव्यापी विरोध कार्यक्रम हुनेछ । यस्तै २४ गते शुभेच्छुक संगठनहरूको देशव्यापी आन्दोलन गर्ने कांग्रेसले निर्णय गरेको छ । माघ ३० गते ७७ वटै जिल्लाका पार्टी कार्यालयले व्यवस्थापन गर्ने गरि सबै जिल्लामा आन्दोलनको घोषणा गरेको छ।
यसैगरि आजको बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनहरूको म्याद ६ महिना थप्ने पनि निर्णय गरेको छ ।
यस अघि नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध चार चरणका आन्दोलन गरिसकेको छ । यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरेको थियो ।
यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो । यस्तै माघ ८ गते देशभरका सबै ६ हजार ७४३ वटै वडाहरुमा विरोध गरेको कांग्रेसले आज नयाँ आन्दोलनको घोषणा गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि काँग्रेसले यसविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ । यसका विरुद्धमा नेकपाको ओली समूहबाहेक अन्य साना ठूला सबै दलहरु सडक संघर्षमा छन् । यद्यपी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ भने सर्वोच्चमा विचाराधिन अवस्थामै छ ।































प्रतिक्रिया