एन्फाद्वारा शुक्रबारका लागि आपत्कालीन बैठक आह्वान

एन्फाद्वारा शुक्रबारका लागि आपत्कालीन बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारका लागि केन्द्रिय कार्यसमितिको आपत्कालीन बैठक बोलाएको छ। पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको आपतकालिन बैठक बोलाएको हो।

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङमाथि आरोप लगाउँदै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पदबाट राजीनामा दिने घोषणापछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न आकस्मिक बैठक आह्वान गरिएको एन्फाले जनाएको छ । बैठक शुक्रबार ४ बजेका लागि बेलाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए। तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको थियो।

अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए। उनले अलमुताइरीको आरोपमा सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन्। उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानबिनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन्।

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भएपनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन्। एन्फाले अहिले पनि अनौपचारिक छलफललाई अघि बढाएपनि ठोस निष्कर्ष निकाल्न सकेको छैन। उनलाई यस विषयमा निर्णय नआउन्जेल विश्राम दिइएको छ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो। उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए।

Logo