चाडपर्व : कालोबजारीका लागि दशैं, सर्वसाधारणका लागि दशा

चाडपर्व : कालोबजारीका लागि दशैं, सर्वसाधारणका लागि दशा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसले विगत ९ महिनादेखि विश्वलाई नै त्रसित बनाएको छ । अहिले पनि विश्वका अधिकांश मुलुक कोरोना महामारीको चपेटामा परेका छन् । महामारी नियन्त्रण गर्न विश्व नै ६ महिना भन्दा बढी लकडाउनमा रहनु परेको थियो । लकडाउनका कारणले बिग्रिएको आर्थिक, सामाजिक जनजीवन अहिले पनि प्रायः मुलुकमा सामान्य अवस्थामा फर्कन सकेको छैन । कोरोनाका कारणले तहसनहस भएको अर्थतन्त्र नै ओरालो लागेको छ भने कोरोना संक्रमण दर पनि विश्वभर नै उच्च हुँदै गएको छ ।

नेपाल पनि महामारीबाट अछुतो छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमा गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन र भदौ ३ गते देखि २४ गतेसम्म निषेधाज्ञा लागू भएको थियो । तर पनि भाइरस नियन्त्रण भने हुन सकेको छैन । अझ पछिल्लो समय दिनप्रतिदिन काठमाडौं उपत्यका लगायत देशैभर कोरोना संक्रमण दर ह्वातै बढ्दै गएको छ । अहिले सरकारले पनि बन्द रहेका केही क्षेत्रबाहेक सबै क्षेत्रहरु सञ्चालनमा ल्याएको छ । लामोदुरीका यातायात, हवाई उडान समेत सञ्चालनमा आइसकेका छन् । यसले गर्दा पनि अहिले काठमाडौं उपत्यकामा भिडभाड पनि बढ्न थालेको छ ।

यतिबेला नेपालीहरुका महत्वपूर्ण चाडपर्व दशै, तिहार तथा छठ नजिकिंदै आएका छन् । कोरोना संक्रमणले महामारीको रुप लिई रहेको अवस्थामा चाडपर्व नजिकिंदै गर्दा बजारमा विभिन्न बस्तुहरुको कालोबजारी तथा मूल्यबृद्धी हुन थालेको छ । यसरी चाडपर्वहरु नजिकिंदै गर्दा कालोबजारी तथा व्यापारीहरुले मनलाग्दी रुपमा उपभोक्ताहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामानको मूल्य बढाउन थालेका छन् । तर यता ७ महिनादेखि लकडाउन र निषेधाज्ञाले भएको रोजगारी गुमाएर आर्थिक अवस्था नाजुक भएका सर्वसाधारणको भने मूल्यबृद्धिले ढाड सेक्न थालको छ ।

त्यसै त यस वर्षको दशै सबैका लागि दशा जस्तो लाग्न थालेको अवस्थामा बजारमा हुने गरेको कालोबजारीबाट थप मारमा पर्न थालेका छन् । हुन त अहिले हुने गरेको कालोबजारी नयाँ भने होइन । विगतदेखि नै नेपालमा जब जब चाडपर्व तथा संकट आउँछ तब व्यापारीहरुले कालोबजारी गरी संकटलाई कमाउने अवसरको रुपमा लिने गरेका छन् । यसरी यो कोरोना महामारीको संकटमा पनि कालोबजारी गर्नेहरुका लागि दशैं आइरहेको छ भने सर्वसाधारणहरुलाई यो दशै दशा बन्दै गएको छ ।

व्यवसायीहरुले चाडपर्वका बेलामा नै महंगी बढाउने तथा कालोबजारी गर्ने गरेकाले सामान्य मानिसहरुका लागि जहिले पनि दशा नै बन्दै आएको छ । तर, यो संकटको अवस्थामा पनि हुने महंगी, कालोबजारी जस्ता गतिविधि नियन्त्रण गर्न सरकारको भूमिका भने अझै पनि प्रभावकारी बन्न सकेको छैन । यसले गर्दा पनि बजारमा व्यापारीको मनोमानी उत्तिकै बढ्दै गएको छ ।

कोरोना महामारीको अवस्थामा पनि नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै उपत्यकाका न्युरोड, इन्द्रचोक, असन, मखन र भोटाहिटी बजारमा किनमेल गर्ने मानिसहरुको भिड लाग्न थालेको छ । यही मौका पारेर व्यापारीले बढी मूल्य असुल्न गरेका छन् ।

कोरोना महामारीको अवस्थामा पनि नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै उपत्यकाका न्युरोड, इन्द्रचोक, असन, मखन र भोटाहिटी बजारमा किनमेल गर्ने मानिसहरुको भिड लाग्न थालेको छ ।

अहिले पछिल्लो समय व्यापारीले विभिन्न बाहाना बनाएर तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढाउदै गएका छन् । यसरी अहिले सबैभन्दा बढी चाडपर्वको समयमा अत्याधिक खपत हुने बस्तुको मूल्यमा सबैभन्दा बढी मूल्य बढाउने गरिएको छ ।

सरकारको मौसमी बजार अनुगमनले व्यापारीलाई क्लिन चिट

सरकारले बजार अनुगमन मौसमी रुपमा मात्रै गर्ने गरेको छ । जब चाडपर्व तथा कालोबजारी भयो भन्ने गुनासो आउन थाल्छ तब मात्रै बजार नियमक निकाय अनुगमनमा जाने गरेको छ । यसरी सरकारको मौसमी अनुगमन व्यवसायीहरुका लागि भने क्लिन चिट लिने अवसर जस्तो मात्र बन्ने गरेको छ । तर उपभोक्ताले भने बजारमा शुद्धता, एकरुपता र जवाफदेहिता पाउन भने सकेका छैनन् ।

यता, बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने कोरोना महामारी तथा चाडपर्व नजिकिंदै गएकाले कालोबजारी तथा मूल्यबृद्धि नियन्त्रणका लागि दैनिक १० वटा टोली बनाएर बजार अनुगमनमा नियमित भइरहेको जनाएको छ । अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ६ महिना भन्दा बढी गरिएको लकडाउनले व्यवसाय बन्द हुँदा सामानको म्याद सकिएकाले त्यसमा म्याद थपेर बेच्ने तयारीमा प्रायः कम्पनीहरु लागि परेको देखिएपछि त्यसतर्फ अनुगमनलाई तिव्रता दिइएको विभागले जनाएको छ ।

संकटका बेला तथा चाडपर्वमा उपभोक्ता ठगिन नपाउन् भनेर अहिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । उनले बजारमा कालोबजारी तथा मूल्यबृद्धीको गुनासो भएमा विभागलाई खबर गरे तत्काल कालोबजारी गर्नेलाई उपभोक्ता ऐन अनुसार कारबाही गर्ने बताए । उने भने, ‘मूल्यबृद्धि नियन्त्रण र कालोबजारी रोक्नका लागि विभाग तथा अन्य विभिन्न निकाय समेत अनुगमनका लागि बजारमा नै रहेका छन् ।’

विभागले यसो भनिरहँदा विभागले नै म्याद गुज्रिएका चक्लेटलाई म्याद थप गरेर बेच्न तयारी गर्ने व्यवसायीहरुलाई सामान्य कारबाही पनि नगरी छाड्ने गरेकाले विभागमाथि पनि नागरिकले शंका गर्न थालेका छन् । विभागले भने जस्तै आम सर्वसाधारणले भने सहज महशुस गरेर सामान किन्न पाएका छैनन् । अहिले बिशेषगरि दशैं लक्षित बजारमा, अखाद्य बस्तु, म्याद गुज्रिएको बस्तु, उत्पादन मिति नभएका तथा मूल्य निर्धारण नगरिएका बस्तुमा सबैभन्दा बढी उपभोक्ता ठगिएका छन् ।

सरकार सधैं नुन, तेल, मैदा र मसलाको मात्रै मूल्य तोक्ने ?

चाडपर्वमा जुत्ता, चप्पल, मोवाइल फोन, लत्ता कपडा, फर्निचर तथा कोठा सजावटका सामानहरुको सबैभन्दा बढी कारोबार हुने गर्छ । तर यी सामानको मूल्यमा कुनै निश्चितता छैन । व्यवसायीले उल्लेखित सामानमा जति लिंदा पनि भएको छ । यसतर्फ सरकारका कुनै पनि निकायको ध्यान दिएको छैन ।

उपभोक्ताहरु पसलैपिच्छे ठगिने गरेका छन् । हरेक पसलमा फरक–फरक मूल्य रहेका हुन्छन् । यसरी हेर्दा यस्ता सामानमा व्यवसायीहरुले ३ सयदेखि ८ सयसम्म नाफा राख्ने गरेको पाइन्छ । तर सरकारले अहिले पनि यस्ता कुरालाई खासै महत्व भने दिएको पाईंदैन । सरकारले जहिले पनि नुन–तेल, मैदा, चामल र मसलाको मात्रै मूल्य तोकेको देखिन्छ । यसले मात्रै नागरिकले बजारमा भएको कालोबजारी तथा मूल्यबृद्धिको भारबाट छुटकारा पाएका छैनन् ।

दशैँको समयमा साना तथा ठूला सहरमा उपभोग्य सामान खरिद गर्नेको भीडभाड बढ्ने गर्छ भने व्यापारीहरुले पनि दशैंलाई पूराना सामान बेच्ने र वर्षभरीको घाटा असुल गर्ने अवसरका रुपमा छुटको अफर र नयाँ नयाँ स्किम राखेर ग्राहक तान्ने गर्दछन् । यसले व्यवसायीलाई मात्रै फाइदा पुग्ने तर उपभोक्ता जहिल्यै ठगिने गरेका छन् ।

चाडपर्वका समयमा व्यवसायीले स्टक क्लियर गर्न भन्दै हरेक सामानमा भारी छुट दिने गरेका छन् । काठमाडौंका ठूला सपिङ मलदेखि सडकपेटीका फुटपाते पसलमा समेत चाडपर्वलक्षित छुट अफर शुरु भईसकेको छ । यसरी व्यवसायीहरुले सामान बेचेको कुनै पनि बिल पनि हुँदैनन् । साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विना बिल सामान बेचिरहेका छन् ।

साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विना बिल सामान बेचिरहेका छन् ।

न्यून र मध्यम बर्गीय परिवारका लागि चाडपर्वका समयमा अत्यावश्यक सामग्री जुटाउन धौ–धौ हुन्छ । त्यसैले पनि आर्थिक अवस्था कमजोर भएकाहरु नै चाडपर्वका बेला ‘छुट पाउने लोभमा लुट मच्चाउने’ प्रबृत्तिको शिकार बन्ने गरेको राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनका अनुसार यो महामारीमा पनि कालोबजारी गरी सामानको मूल्यबृद्धि गर्ने व्यवसायीहरुमा मानवता हराएको देखिन्छ ।

कोही व्यापारी कालोबजारीतिर कोही व्यापारीहरु मारमा

कोरोना भाइरसको प्रभावले तथा अन्य विभिन्न कारणले एक वर्षदेखि केरुङ नाकामा लत्ताकपडा लगायतका सामान रोकिँदा थोक व्यापारीहरु मारमा परेको बताउन थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा दशैँ नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउने भएकाले कपडा व्यापारीहरु निरास बनेका छन् । संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण उपत्यकाका खुद्रा व्यापारीसमेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।

अर्कातर्फ केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएका सामानमा पुनः नयाँ म्याद थपेर बजार पठाइनेतर्फ लागि परेका छन् । केही दिन अगाडि काठमाडौंको कलंकीस्थित एक गोदामबाट प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पाँच तले घरनै भाडामा लिएर एएसटी प्रालिले १४ सय प्रकारका कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गर्दा महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । पाँच तले घरको तीनवटा फ्ल्याटमा केक र यसका कच्चा पदार्थको पुनः मिति थपेर बजारमा पठाउने तयारी गरेर उपभोक्तालाई गुणस्तरहीन सामान बेच्न थालेका छन् ।

यता, विशाल ग्रुपले म्याद गुज्रेका चक्लेट, बिस्कुट, आलु चिप्समा नयाँ लेवल राख्दै बजार पठाउने गरेको भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिसकेका ट्याङ र ओरियो बिस्कुट, आलु चिप्स लगायतको सामग्री बरामद गरेको थियो । ती सामग्रीमा एक वर्षको म्याद थप गर्दै बजार पठाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेसिनसहित गत बिहीबार महाशाखाले ९ जनालाई रङ्गेहात पक्राउ गरेको थियो । तर पक्राउ परेकाहरु कुनै कारबाही बिना नै छुटेका छन् । यसरी एकथरी व्यवसायीहरु कालोबजारी र अर्को थरी सामान बेच्न नपाउने भन्दै मारमा परेका छन् ।

दशैं, तिहारलक्षित सरकारको सहुलियत पसल नाम मात्रै

दशैं, तिहार र छठका लागि उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन सरकारले गत बिहिबारदेखि बिक्री कक्ष सञ्चालन सुरु गरेको छ । तर उपयुक्त व्यवस्थापनबिनै सञ्चालन गरेकाले सहुलियत पसलमा उपभोक्ताले खोजेको सामान तथा खाद्यान्न नै पर्याप्त छैनन् ।
सहुलियत पसलमा थोरै चामलको बोरा र थोरै परिमाणमा दाल मात्र राखिएको छ । कम्पनीले साल्ट ट्रेडिङका उत्पादनहरु ल्याएर सहुलियत बजारमा राख्ने जानकारी गराए पनि साल्ट टेडिङका सामान पनि राखेको छैन । बिभिन्न खाद्यवस्तुको मूल्यमा छुटको सूची पनि सार्वजनिक गरेको थियो । तर यतिबेला उपभोक्ता आएर चिनी किन्न खोज्दा खाद्यको बिक्रीकक्षमा पाइँदैन ।

Logo