नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि दोस्रो अध्यक्षको कार्ड फ्याँकेका छन्।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीले पार्टी एक ढिक्का होस् भन्ने उद्देश्यले उक्त प्रस्ताव राख्नुभएको बताएका छन्।
‘एकताका लागि हदैसम्म लचकतासाथ प्रस्तुत हुने र पार्टीलाई एक ढिक्का बनाउने उद्देश्यअनुरुप अध्यक्षले उक्त प्रस्ताव राख्नुभएको हो,’ भट्टराईले केन्द्रबिन्दुसँग भने। तथापि, नवौं महाधिवेशनद्वारा पारित एमालेको विधानमा एकल अध्यक्ष रहने व्यवस्था छ।
विधानअनुरुप तत्काल नेपाललाई अध्यक्ष बनाएर जानसक्ने अवस्था छैन। यदि माधव नेपाल दोस्रो अध्यक्षमा मञ्जुर भए भने पनि विधानविपरीत हुन जान्छ।
विधानविपरीत अध्यक्षले किन उक्त प्रस्ताव राख्नुभयो भन्ने प्रश्नमा भट्टराईले भने छिट्टै विधान अधिवेशन गर्ने निर्णय भएको हुँदा त्यहाँबाट मिलाउन सकिने बताए।
‘हामी छिट्टै विधान अधिवेशन गर्दैछौं, यो प्रस्ताव अधिवेशनबाट पास गराएर लैजान सकिन्छ,’ उनले भने, ‘यो हाम्रो पवित्र उद्देश्यसाथ अपनाएको लचकता हो, हामीले यति लचकता अपनाउँदा पनि उहाँहरु मान्नुहुन्न भने त के गर्न सकिन्छ र?’
एमाले पार्टीभित्रको विवाद झनै पेचिलो बन्दै गइरहेको छ। यसअघि ओली समूहमा रहेका आठ सांसद माधव पक्षमा खुलेका भए पनि माधव पक्षमै रहेका दशजना सांसद भने पार्टी एकताको लाइनमा उभिएका छन्।
विधानअनुरुप तत्काल नेपाललाई अध्यक्ष बनाएर जानसक्ने अवस्था छैन। यदि माधव नेपाल दोस्रो अध्यक्षमा मञ्जुर भए भने पनि विधानविपरीत हुन जान्छ।
यदि नेपाल पक्ष अध्यक्षले राखेको प्रस्तावमा पनि नआउने र कार्यदलको प्रस्तावलाई पनि नमान्ने भन्ने अडानमा रहेमा तपाईंहरू कसरी चल्नुहुन्छ भन्ने प्रश्नमा सचेतक भट्टराईले माधव पक्ष एकता कायम गर्न नआए पनि पार्टी अघि बढ्ने बताए।
‘उहाँहरूलाई ल्याउन अधिकतम प्रयास हुन्छ, उहाँहरू आउनु भएन भने पनि पार्टीको काम त रोकिँदैन, हामीले पार्टीको महाधिवेशनसम्मको तालिका बनाइसकेका छौं, उहाँहरू आउनु भयो, हामी सधैं स्वागत गर्छौं। नत्र पार्टी त अघि बढ्छ–बढ्छ,’ भट्टराईले भने।
पछिल्लो समय माधव नेपाल पक्षले फ्याँकेको पार्टी एकतासम्बन्धी अर्को प्रस्ताव वरिष्ठ नेता झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग पनि अघि सारेको छ।
नेपाल पक्षले वरिष्ठ नेता खनाललाई दोस्रो अध्यक्षको प्रस्ताव राखेको हो भन्ने प्रश्नमा सचेतक भट्टराईले यो माधव नेपालले बाहिर भन्नुभएको होला, तर, उहाँले नै जेएन खनाललाई दोस्रो अध्यक्ष बनाउन नमान्ने दाबी गरे।
‘पावर शेयरिङलगायत कुरा आएका छन्, त्यो माथिल्लाे तहले मिलाउने हो। वरिष्ठ नेता खनाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरिएको छ, माधव नेपालले नै त्यो मान्नु हुन्न। उहाँको बोली र काम गराइ फरक छ,’ भट्टराईले भने।
यता, देउवालाई मत दिने माधव नेपाल पक्षका २३ मध्ये १९ सांसदहरूको बैठकले भने ओलीले दिने भनेको दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न माधव नेपाललाई सुझाएका छन्।
बुधबार सहाना प्रधान स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले ओलीको प्रलोभमा नफस्न नेपाललाई सुझाएका थिए।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सांसद मटमणि चौधरीले दिएको जानकारी अनुसार बैठकमा उपस्थित १९ जनाले नै दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएको बताए।
‘दोस्रो अध्यक्ष केपी ओलीले पार्टी एकताका नाममा फ्याँकेको फन्डा मात्रै हो, विधानमा यसको परिकल्पना गरेको छैन, त्यसैले हामी यो लफडामा पर्नु हुन्न, हामी ओलीसँग जाने त के, त्यो कुरा सोच्न पनि सकिँदैन भन्दै आत्मासमपर्ण गरेर नजाऔं’ उनीहरूले भनेका थिए।
यो सँगै एमाले पार्टीमा एकता कायम हुने सम्भावना टरेर भएको देखिएको छ। पार्टीमा एकता कायम गर्ने भन्दै हिँडेका दोस्रो तहका नेताहरू समेत पछिल्ले समय निष्क्रिय रहेसँगै अब पार्टी एक हुने सम्भावना कमजोर बन्दै गएको छ।
यता माधव पक्षले भने पार्टीको उल्झनको कारण देउवा नेतृत्वको सरकारमा सरिक हुन पाएको छैन।
सरकारमा जाने तयारी अन्तिम चरणमा पुगेको भए पनि पार्टीको निर्णयविपरीत सरकारमा जाँदा अध्यक्षले कारवाही गर्ने र सांसद पद पनि खोसिने हुँदा माधव पक्ष अन्योलमा छ।































प्रतिक्रिया