काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ६ र ९ मा रहेको गैरीचौरमा औद्योगिक ग्रामको निर्माणकार्य सुरु गरिएको छ। वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा त्यहाँ रहेको करिब ७७१ रोपनी खाली सार्वजनिक जग्गालाई औद्योगिक ग्राम निर्माणका लागि नगरपालिकाले आवश्यक जग्गा व्यवस्थापनको कार्य गरेपछि खाली डाँडामा औद्योगिक ग्राम निर्माणको काम भइरहेको छ।
सो क्षेत्रमा पहिलो चरणमा ७० रोपनी जग्गा सम्याएर आवश्यक तारबार र एक तलाको दुईकोठे सुरक्षा गार्ड बस्ने घर निर्माण गरिसकिएको छ। जिल्ला घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख केशवप्रसाद पुडासैनीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको रु ७७ लाख आर्थिक सहयोगमा सुरु गरिएको आयोजना अब आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनाका रूपमा प्रक्रिया अगाडि बढेको छ। पहिलो चरणको निर्माणको जिम्मा राज कन्स्ट्रक्शनले जिम्मा पाएको थियो।
सो कार्यलाई निरन्तरता दिन यस वर्ष पनि रु ५० लाख बजेट परेको र अब बाँकी कामलाई निरन्तर अगाडि बढाउने तयारी रहेको उनले बताए। “पहिलोपटकको बजेटबाट ७० रोपनी जग्गा सम्याउने र सुरक्षा गार्ड घर निर्माण गरिसकेका छौँ”, उनले भने, “अब बाँकी जग्गा विस्तारै सम्याउने र औद्योगिक क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै जाने योजना छ।”
उद्योगीलाई सुरक्षित तरिकाले जमिन र भवन बनाइदिइसकेपछि उनीहरूलाई पनि लगानी गर्न सजिलो हुने तथा सयौँ मान्छेले रोजगारी पाउने अवस्था सिर्जना हुने उनको भनाइ छ। जग्गा पर्याप्त मात्रामा रहेका कारण अहिले सुरु गर्दा ग्रामका रुपमा भए पनि पछि त्यसलाई विस्तार गरेर औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको पुडासैनीले बताए। त्यसका लागि नगरपालिका र वडाले समेत साथ दिएको अवस्था रहेकाले औद्योगिक ग्राम निर्माणको काम अगाडि बढिरहेको बताइएको छ।
अहिले वडा नं ६ अन्तर्गत कित्ता नं ४४७, ५२३ र ५२४ मा काम भइरहेको छ। त्यस्तै कित्ता नं ५३१ को करिब १५० रोपनी, १८२ नं कित्ताको २२५ रोपनी र १६१ नं कित्ताको २९० रोपनी जग्गा गरेर करिब ७७१ रोपनी जग्गामा औद्योगिक ग्राम बन्नेछ। सो स्थानमा करिब १५० देखि २०० सम्म भवन निर्माण गर्ने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। सो क्षेत्र काठमाडौँबाट अरनिको राजमार्ग हुँदै ३६ किलोमिटर र भक्तपुर भएर नगरकोट हुँदै जाँदा २६ किलोमिटरको दूरीमा छ।
नगर प्रमुख टोकबहादुर वाइबाले औद्योगिक ग्राम निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गरेर निर्माणलाई अगाडि बढाउने काममा सहयोग भइरहेको बताए। औद्योगिक ग्राम निर्माणले स्थानीय उद्योग व्यवसायको प्रवद्धन गर्नाका साथै रोजगारीसमेत सिर्जना हुने भएकाले त्यसबाट नगरपालिकालाई धेरै फाइदा पुग्ने विश्वास उनको छ। त्यसका लागि सडकसँगै खानेपानी, बिजुली र अन्य पूर्वाधार व्यवस्थापन गर्दै जाने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेले औद्योगिक ग्राम निर्माण गर्ने कार्यले काभ्रेपलाञ्चोकका व्यवसायीमा खुसी छाएको बताए। त्यसका लागि आवश्यक तयारी भइरहेको अवस्थामा त्यहाँसम्म पुग्ने आवश्यक सडक पूर्वाधारका साथै अन्य भौतिक पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए।
“औद्योगिक ग्राम निर्माण भई सञ्चालनमा आएपछि यहाँ विभिन्न क्षेत्रका उद्योगहरु सञ्चालन हुने र जसमा ५० फिट लामोसम्मका सवारी साधन (ढुवानी कन्टेनर टेलर)समेत चल्न सक्ने भएकाले सडक निर्माणमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ”, उनले भने, “त्यससँगै भौतिक पूर्वाधार (भवन निर्माण गर्दा कस्तो खालको उद्योग सञ्चालन गर्न कस्तो र कति ठूलोसम्मको भवन आवश्यक हुन्छ भन्ने कुरा उद्योगीसँगको सल्लाह र समन्वय गरेको अवस्थामा पछि गएर भत्काउने र फेरि निर्माण गर्ने अवस्था नहुने गरी काम गर्न सकेमा लगानीको उचित सदुपयोग हुनेछ।”रासस































प्रतिक्रिया