काेराेनाविरूद्धकाे खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

काेराेनाविरूद्धकाे खोप लगाउनेलाई १०० डलर दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले काेराेनाविरूद्धकाे खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका हुन्।

बाइडेनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीबार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए। उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ।

बाइडेनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए। उनले भने, 'यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ।'

खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिने उनले घोषणा गरेका छन्। उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन्।

बाइडेनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए। ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो।

अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ। त्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ।-बीबीसीबाट

Skip This
Skip This
Logo