काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट बनेका छन् ।
प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरुले लगाएपनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राजदूत नियुक्तिका विषयमा सामान्य छलफल भएपनि त्यस्ता निर्णयहरु गर्दा सरकारलाई सुझाव दिने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज कुनै पनि छलफल नभएको उनले बताए । यसअघि बसेको सचिवालय बैठकले शैद्धान्तिक र नीतिगत रुपमा छलफल गरेपनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको गृहकार्य जारी रहेकाले आजको बैठकमा कुनै छलफल नभएको उनको भनाइ छ ।
त्यस्तै सचिवालय बैठकले डा. गोविन्द केसीलाई अनसन तोड्न समेत आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औँ पटक अनसन बसेका केसीको अधिकांश माग पूरा भएको र केही माग पूरा हुने क्रममा रहेकाले अनसन तोड्न नेकपा सचिवालयले आग्रह गरेको हो । अहिले कोरोनाले देशलाई अफ्ठ्यारो पारेको अवस्थामा कोरोना नियन्त्रण र रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने भएकाले छलफल गर्नुपर्न अन्य विषयमा छलफल गर्न सकिने उनले बताए । सांगठनिक एकीकरणको विषयमा पनि अध्यक्षद्वय बीच गृहकार्य जारी रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।





























प्रतिक्रिया