ओली सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् निषेधाज्ञा अवधि भर २० युनिट विद्युत खपत गर्ने घरायसी तथा साना विद्युत उपभोक्ताहरूलाई विद्युत महशुल छुट दिने घोषणा गरेको थियो ।
सरकारको घोषणाअनुसार नेपाल विद्युत प्राधिकरणले घरायसी तथा साना विद्युत उपभोक्ताहरूलाई दुई महिनाको विद्युत महसुल छुट दिएको छ। सरकारले निषेधाज्ञा अवधिभर विद्युत छुट दिन भने पनि नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले भने बैशाख र जेठ दुई महिनाको मात्रै विद्युत महशुल छुट गरेको हो ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत् ल्याएको चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै घरायसी तथा साना विद्युत उपभोक्ताहरूलाई निषेधाज्ञा अवधिको विद्युत महशुल छुट दिने घोषणा गरेका थिए ।
सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्तामध्ये मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशतसम्म विद्युत महशुल छुट दिने घोषणा गरेको थियो। तर, प्राधिकरण सञ्चालक समितिले भने दुई महिनाको मात्रै विद्युत महशुल छुट दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले केन्द्रबिन्दुलाई बताए।
प्रवक्ता तिम्सिनाका अनुसार घरायसी तथा साना विद्धुत का धेरै उपभोक्ताहरूले छुट पाइसकेको, अब नपाएकाले पनि पाउने बताए। उनले भने,‘उपभोक्ताहरुले बैशाख र जेठ महिनाको विद्युत महशुल बुझाइ सकेकाले, बुझाइ सकेकाहरूको अर्को महिनामा समायोजन गरिने र तिर्न बाँकी रहेकाले बैशाख र जेठ महिनाकै छुट दिइनेछ।’
यसरी सरकारले घरायसी विद्युत उपभोक्ताहरूलाई बजेटमार्फत् विद्युत महशुलमा छुट दिँदा प्राधिकरणलाई बैशाखको मात्रै ६० करोड रुपैयाँ व्ययभार पर्ने देखिएको छ। त्यस्तै, जेठ महिना पनि ६८ करोड ८० लाख रुपैयाँ गरी कुल १ अर्ब २८ करोड ८० लाख रुपैयाँ व्यवभार पर्ने प्रवक्ता तिम्सिनाको भनाइ छ।































प्रतिक्रिया