देउवाले पार्टी कब्जा गर्न खोजेः बलबहादुर केसी

देउवाले पार्टी कब्जा गर्न खोजेः बलबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको चाक्सीबारीमा मंगलबार बसेको बैठकले नेता रमेश लेखक नेतृत्वको छानबिन समितिले बुझाएको क्रियाशील सदस्यको प्रतिवेदनप्रति गम्भीर असहमति जनाएको छ।

बैठकले समितिको प्रतिवेदनलाई स्वीकार्न नसकिने पनि निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै पौडलपक्षीय नेता बलबहादुर केसीले विधि र प्रक्रियाभन्दा बाहिर गएर वितरण गरिएको नयाँ क्रियाशील सदस्यता र नवीकरणबारे ‘प्रभावशाली नेता’को भनाइमा लागेर समितिले निर्णय गरेकाले असहमति जनाउने छलफलको निष्कर्ष रहेको बताए।

नेता केसीले सभापति देउवाले पार्टी कब्जा गर्न खोजेको टिप्पणी पनि गरे। नभए उनले पार्टी समायोजनदेखि क्रियाशील सदस्यता वितरण र नवीकरणबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णयको आधारमा गर्नुपर्ने तर, त्यसभन्दा बाहिर गएर काम भएको र त्यो पार्टी कब्जा गर्ने नियतले भएको केन्द्रविन्दुलाई बताए।

‘केन्द्रीय कार्यसमितिको बैठकले पार्टी समायोजनदेखि क्रियाशील सदस्यता वितरण र नवीकरणबारे जुन निर्णय गरेका थियौं, त्यसभन्दा बाहिर गएर प्रभावशाली नेताको भनाइमा लागेर गरेको निर्णयप्रति असहमति जनाउने निर्णय भयो’, नेता केसीले भने, ‘संस्थापन पक्षले पार्टी कब्जा गर्ने हिसाबले विधि र प्रक्रियामा नलगी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको ठम्याइ भयो।’

पौडेल पक्षले आगामी भदौ १६ गते नै महाधिवेशन हुनुपर्नेमा सभापति देउवालाई दबाब दिने पनि निर्णय गरेको छ। तर, महाधिवेशन हुनेमा भने शंका छ। क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टी समायोजनमा देखिएको विवाद टुङ्गिएको छैन। अझ पौडेल पक्षले त्यसलाई एजेण्डा नै बनाउने पनि देखिएको छ।

Skip This
Skip This
Logo