नेकपा एमालेभित्रको विवाद टुंग्याउन दोस्रो तहका नेताहरूले कसरत गरिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने बृहत् कम्युनिस्ट एकता गर्ने गरी अर्को रणनीतिका साथ मैदानमा उत्रिएको छ।
विचारले कम्युनिस्ट भएका तर समयकालमा अलग भएका नेताहरूलाई एक ठाउँ ल्याएर बृहत् कम्युनिस्ट एकता गर्ने बहस माधव पक्षका नेताहरूले थालेका छन्। उक्त अभियानको नेतृत्व माधव नेपालले गर्ने भएका छन्। यो अभियानको ‘मास्टर माइन्ड’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए पनि माधव नेपाललाई नेतृत्वका लागि अघि सारिएको छ।
पछिल्लाे समय आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सँगै अगाडि बढ्ने सम्भावना सकिएको भन्दै माधव समूह कम्युनिस्टबीच एकता गर्न लागि परेको हो। माधव विचार समूह मूल पार्टीमा फर्किए पनि पार्टीमा स्थान नपाउने निष्कर्षसाथ उनीहरूले नयाँ रणनीतिका रूपमा कम्युनिस्ट एकताबारे छलफल चलाइरहेको बुझिएको छ।
२०७४ सालको प्रदेश र केन्द्रको निर्वाचनमा पार्टी अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच चुनावी गठबन्धन भएको थियो।
त्यसबेला दुवै पार्टीले सम्मानजनक जीत हासिल गरे। प्रदेश नम्बर २ बाहेक प्रदेशमा र केन्द्रमा बहुमतसहितको सरकार ओली–प्रचण्डले बनाए।
पछि ३ जेठ, २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पाटी एकीकरण भयो। नेकपा नामक पार्टीले झन्डै दुई तिहाईसहित सरकारको नेतृत्व गर्याे ।
२०७४ सालको चुनावमा जनताले कम्युनिस्टलाई दिएको मतबाट लोभिएर माधव समूह बृहत् कम्युनिस्ट बनाउन लागेका हुन्। त्यसो त, ओलीको अहंकार, हेपाहा प्रवृत्तिविरुद्ध बृहत् कम्युनिस्ट एकता गर्न लागिएको जनाइएको छ।
तथापि, एमाले नेता एवं प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले माधव विचार समूहले चाहे पनि ओली आफैंले पार्टी एकता हुन नदिने भएकाले वैकल्पिक रणनीति अपनाउनुपर्ने अवस्था आएको जानकारी दिए।
‘कार्यदलले विवाद मिलाइसकेको थियो। तर, ओलीले विभिन्न ठाउँमा गएर गाली गर्ने थाले, राष्ट्रघाती, देशद्रोही, अपराधी भरेर माधव नेपाललाई हेप्न थाले, केपी ओली नै पार्टीमा माधव नेपाल समूह फर्कियोस् भन्ने चाहँदैनन्, नेपाल समूह सकारात्मक छ। पार्टीमा एकता हुने भयो भनेर ओलीले थाहा पाएपछि उनी बर्बराउन थालिहाल्छन्। त्यसैले एकता अनिर्णयको बन्दी बनिरह्यो,’ चौधरीले भने।
चौधरीले वैकल्पिक शक्ति निर्माण गर्न पार्टी एकीकरण गर्ने दाबी गरे। ओलीबाहेक माधव नेपाल, प्रचण्ड, बाबुराम र उपेन्द्रसम्मिलित पार्टी निर्माण गर्ने चौधरीले केन्द्रबिन्दुलाई जानकारी दिए।
‘अहिले हामी २२ जना नयाँ पार्टी गठन गरौं भन्ने लाइनमा छौं। विश्वासको मत नदिने १० जना माधव पक्षका नेताहरूलगायत ओली पक्षका नेताहरू पनि बृहत् कम्युनिस्ट एकताको पक्षमा हुनुहुन्छ, ओलीबाहेकको कम्युनिष्ट एकता गर्न हामी लागिरहेका छौं, प्रचण्ड, उपेन्द्र पनि हामीसँग आउनुहुन्छ, हामी पुनः पहिलो पार्टी बन्ने गरी एकता गर्छौं,’ चौधरीले भने।
मधेसमा पकड भएका उपेन्द्र यादव र पूर्वी पहाडमा पकड भएका अशोक राईलाई मिलाएर हिँडेमा माओवादी पकड भएको पश्चिम, पूर्वी पहाडी जिल्लाहरूसहित सहरी क्षेत्रमा जित हासिल गर्न सकिने हुँदा एकिकृत पार्टी गठनको पहल निकै अगाडि बढिसकेको बताइएको छ।
वाम विश्लेषक श्याम श्रेष्ठ वैचारिक रूपमा पार्टी एकताको सम्भावना रहे पनि व्यवहारिक रूपमा अहिले नै त्यस दिशामा घटनाक्रम अघि नबढेको बताउँछन्। ‘माधव नेपाल दोधारमा रहेको हुँदा उनी आफैंले त्यो बाटोमा अवलम्बन गर्ने अवस्था छैन,’ उनी भन्छन्।
‘एकीकरणका लागि माधव नेपाल प्रयोगात्मक हिसाबमा अघि बढे सम्भव छ, उनीहरूको विचार त्यति टाढा छैन, माधव नेपाल स्वयंको पनि व्यक्तिगत चाहना छ त्यो। तर, माधव नेपाल पक्षका प्रभावशाली दोस्रो तहका नेताहरू जसरी हुन्छ एमालेमा एकता कायम गर्नुपर्छ भनेर लागिरहेका छन्, उनीहरूले माधव नेपाललाई दबाब दिएकाले वैकल्पिक शक्ति निर्माण गर्न असहज छ,’ श्रेष्ठले केन्द्रबिन्दुसँग भने।
त्यस्तै, विश्लेषक भीम भूर्तेलले पनि अहिलेको एमालेभित्र जुन हिसाबको टकराव र माधव समूहको इगो छ, त्यस हिसाबमा माधव, प्रचण्ड र उपेन्द्रबीच पार्टी नै गठन हुने नभए पनि चुनावमा तालमेल गर्ने सम्भावना रहेको बताए।
‘माधव नेपालको अनुहार अहिले राजनीतिमा बिकेको अनुहार हो, माधव नेपाललाई गुमाउन न प्रचण्ड चाहन्छन् न देउवा। उनीहरू माधवलाई आफ्नो साथ नै राख्न चाहन्छन्,’ भूर्तेलले भने। कम्युनिस्टबीच पार्टी एकता सम्भव बन्दै गएको उनको भनाइ छ। ‘प्रचण्ड उही अनुहार लिएर अघि बढ्न चाहन्छन्, माधव पक्षका २२ सांसदको चाहना पनि यही छ, उनीहरूबीच एकताको सम्भावना छ,’ भूर्तेलले भने।





























प्रतिक्रिया