एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विचार समूहभित्रै पार्टी एकताको सन्दर्भमा फरक–फरक मत देखिएको छ।
दोस्रो तहका प्रभावशाली नेताहरूले जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको गर्नुपर्ने मत राखिरहेका छन् भने तेस्रो तहका नेताहरूले ओलीसँगको सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने मत राखिरहेका छन्।
दुई थरी मत यसअघि पनि पटक–पटक उठ्दै आएको भए पनि गएको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा भने छताछूल्ल हुने गरी उठेको हो।
दुई फरक मत पार्टी एकता र नयाँ पार्टी गठनमध्ये नयाँ पार्टी गठन गरेर नोपल समूह अगाडि बढ्नुपर्छ भन्नेमा बढी मत देखिएको छ।
‘अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने, उनले धोका दिन्छन्, हामी हाम्रो रक्षा आफै गर्नुपर्छ, हामी आफ्नै तरिकाले संगठन विस्तार गरौं,’ माधव पक्षीय केन्द्रीय कमिटी बैठकमा नयाँ पार्टी गठन पक्षधरहरूले भनेका छन्।
त्यस्तै दोस्रो तहका नेताहरू, जो कार्यदलमा पनि सहभागी बनेका थिए, भने नयाँ पार्टी गठनको विकल्प नभएको बरु केही लचक भएर पार्टी एकतामा ध्यान दिनुपर्ने बताउँछन्।
नेपाल समूहका केन्द्रीय सदस्यहरू मात्र होइनन् उनीनिकट सांसदहरूले पनि विकल्पमा जानुपर्ने धारणा राखेका छन्।
तथापि, एकताबारे सम्पूर्ण निर्णय गर्ने जिम्मा भने स्थायी कमिटीलाई दिइएको छ। बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा ५५ सदस्यले धारणा राखेका थिए। अधिकांशले सम्मानजनक एकता र नेतृत्वबीचको शक्ति बाँडफाँटबाहेक ओलीको उधारो आश्वासनमा एकता नगर्न सुझाएको केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डेले कन्द्रबिन्दुलाई बताए।
‘एकताका नाममा लामो समय अनिर्णयको बन्दी बन्न नहुने मत धेरैबाट आएको थियो,’ उनले भने।
त्यस्तै। बैठकमा विवाद समाधानका लागि गठित कार्यदलका सदस्यको भूमिकामाथि केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए। तथापि, कार्यदलका सदस्यहरूले भने दसबुँदे सहमतिको प्रस्ताव उपलब्धिमूलक रहेको तर्क गरे।
भीम रावल, घनश्याम भुसाललगायतका कार्यदलका सदस्यहरूले दसबुँदे सहमति कार्यान्वयन गरेर एकतामा जानुपर्ने मत राखेका थिए।
माधव नेपाल निकट केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेको बताए। तैपनि, बहुमत केन्द्रीय सदस्यले कार्यदलले निकालेको निष्कर्षमा असहमति जनाएको समेत उनले केन्द्रबिन्दुलाई जानकारी दिए।
‘दसबुँदे सहमति उपलब्धिमूलक भए पनि पर्याप्त नरहेको मत हामीले राख्यौं, मलगायत बहुमत कन्द्रीय सदस्यहरूको यो पर्याप्त नरहेको धारणा छ र, यसलाई जस्ताको तस्तै स्वीकार गरेर जान सकिने अवस्था छैन,’ उनले भने।
माधव नेपाल निकट केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा रावलले दसबुँदे सहमति र पछिल्ला दिनमा एकताका लागि भएका प्रयासबारे ब्रिफिङ गरेको बताए। तैपनि, बहुमत केन्द्रीय सदस्यले कार्यदलले निकालेको निष्कर्षमा असहमति जनाएको समेत उनले केन्द्रबिन्दुलाई जानकारी दिए।
ओलीले आफ्ना गतिविधि रोकेनन् भने कि त समानान्तर गतिविधि गर्ने नत्रभने वृहत् कम्युनिस्ट एकताका लागि अघि बढ्नेबारे समेत बैठकमा छलफल भएको थियो। तत्काल त्यो सम्भव नभए ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याएर पार्टीबाट अलग हुनुपर्नेबारे पनि छलफल भएको थियो।
तथापि, माधव पक्षले २४ गतेसम्म पर्खिने भएको छ। ओलीले २४ गतेसम्म गतिविधि नरोके आफ्नो ढंगले अगाडि बढ्ने जनाएको छ।
३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिएपछि सरकारमा पनि सहभागी हुनुपर्छ भन्ने मत राख्नेमा केन्द्रीय सदस्य मेटमणि चौधरी र प्रेम आले रहेका थिए।
यसले के देखाउँछ भने तत्काल माधव नेपाल समूह सरकारमा नजाने देखिएको छ। स्थायी कमिटी सदस्य रघुजी पन्तले पत्रकारहरूलाई नेपाल समूहको कारण सरकार गठन ढिलाइ नभएको गठबन्धनलाई स्पष्ट रूपमा नेपाल समूह सरकारमा सहभागी नहुनेबारे बताइएको र केन्द्रीय कमिटीको बैठकमा पनि सरकारमा सहभागी नहुने निर्णय भएको जानकारी दिए।
‘हाम्रो कारणले मन्त्रिमण्डल विस्तार ढिला भएको होइन, हामी सरकारमा सहभागी बन्दैनौं,’ नेता पन्तले भने।
यता, एमालेको संस्थापन पक्षले भने पार्टी एकताका नाममा गतिविधि नरोक्ने भएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको चुनाव नजिक आइरहेको र महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताए ।
‘पार्टीका नियमित काम अघि बढ्छन्। छलफलका नाममा पार्टी कामलाई रोक्ने गतिरोधमा जाने भन्ने हुन्न,’ उनले भने ।































प्रतिक्रिया