माओवादी एमसीसीको विपक्षमा उभिए देउवा र ओलीबीच गठजोड हुन सक्छः राधाकृष्ण मैनाली

माओवादी एमसीसीको विपक्षमा उभिए देउवा र ओलीबीच गठजोड हुन सक्छः राधाकृष्ण मैनाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले फुट वा जुटको दोसाँधमा छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सकिँदैन भन्ने संस्थापनइतर पक्ष र वरिष्ठ नेता माधव नेपालको पार्टीमा स्थान छैन भन्दै कठोर आलोचना गर्ने संस्थापन पक्षले गर्दा पार्टी एकता हुनेमा अझै संशय छ। झापा आन्दोलनदेखिका पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली एमालेमा विचारको नभएर पद र शक्तिको लडाइँ भएको दाबी गर्छन्। 

कोअर्डिनेसन केन्द्रका संस्थापक नेता, नेकपा मालेका संस्थापक नेता, नेकपा एमालेका पोलिट ब्युरो तथा स्थायी कमिटी सदस्य र पूर्वमन्त्री समेत रहेका मैनालीले ओलीले चाहेको खण्डमा अहिलेको विवाद २४ घन्टामा समाधान हुने बताएका छन्। अहिले एमालेमा क्रियाशील छैनन्। तर, शीर्ष भनिएका एमालेका सबै नेताका व्यवहारलाई उनले नजिकबाट नियालेका छन्। 

एमालेभित्रको चरम विवाद, यसले कम्युनिस्ट आन्दोलनलाई पारेको असर, सत्ता गठबन्धनको भविष्यबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यले मैनालीसँग गरेको संवादको सम्पादित अंशः 

एमालेभित्र देखिएको विवादलाई कसरी लिनुभएको छ?

यो विवादको गुदी सत्ताको भागबन्डा नै हो। चाहे केपी ओली हुन् वा माधव नेपाल वा झलनाथ खनाल, उहाँहरू घुमाइफिराइ सत्तामा कसरी जाने भन्ने कुराकै ‘टसल’ हो। पार्टी होइन, आ–आफ्ना गुटलाई बलियो बनाएर पार्टीको नेतृत्वमा जाने अनि त्यसबाट सत्तामा जाने होडबाजी चलेको हो।  
   
पछिल्लो समय माधव नेपालजी अन्यायमा परेकै हो। माधवजीले पार्टी नेतृत्वमा हुँदा सकेसम्म बहुमतको दम्भ देखाएर अरूलाई निचोर्ने काम पनि गरेकै हुन्। 

माधवले जे गर्थे, त्यहीबाट सिक्दै अझ प्रभावकारी रूपमा ओलीले गुटबन्दीको सहायताबाट पार्टीलाई ‘सिस्टम’भन्दा बाहिर लगेर प्रयोग गरे। 

त्यसको मुख्य उद्देश्य भनेको सत्तामा टिक्ने नै हो। पछिल्लो समयको गतिविधिमा बेइमानी ओलीजीकै हो। त्यो उनले सुरु गरेका भने होइनन्। उनीभन्दा अगाडिदेखि नै चल्दै आएको हो। 
प्रचण्डलाई सँगै ल्याएर ओलीले पार्टी एकता गर्नुभन्दा पनि सत्तामा जाने सिडी बनाएका हुन्। 

सत्तामा पुगेपछि प्रचण्डलाई गलहत्याउने काम ओलीले गरे। प्रचण्डलाई गलहत्याइसकेपछि माधवलाई पनि मिचेर मिल्नेभन्दा पनि हैकममा जाने मनसाय ओलीमा देखियो। 

यतिको पराकाष्ठामा त हिजो माधव पनि पुगेका थिएनन्। माधवले सिपीलाई त्यागे, मलाई त्यागे। त्याग्ने काममा त उनी पनि नलागेका होइनन्। 

तर, ओलीले चाहिँ पार्टी नै ध्वस्त पारेर भए पनि सत्तालाई मूलमन्त्र बनाएर अरूलाई निचोर्ने काम गर्दा दुई–तिहाईको सरकार पनि गयो। अहिले पनि ओलीमा नेपाल र प्रचण्डलाई उठ्नै नसक्ने गरी कसरी दबाउने सकिन्छ भन्ने मानसिकता देखिन्छ। 

सत्तामा पुगेपछि प्रचण्डलाई गलहत्याउने काम ओलीले गरे। प्रचण्डलाई गलहत्याइसकेपछि माधवलाई पनि मिचेर मिल्नेभन्दा पनि हैकममा जाने मनसाय ओलीमा देखियो। 

त्यसमा कम्युनिस्ट पार्टीको कुरो पनि आएन, समाजवादको कुरो पनि आएन। देशलाई कसरी रूपान्तरण गर्ने भन्ने कुरो ओलीको प्राथमिकतामा पर्दैन। अलग पार्टी भए पनि यी दुइटालाई कसरी सिध्याउन सकिन्छ, सिध्याउन पाए आफ्नो लक्ष्य पुरा हुन्छ भन्ने तरिकाले उनी अघि बढिरहेका छन्। 

होइन भने दुई–तिहाईको बहुमत आइसकेपछि त्यसलाई टिकाउँदै पार्टीलाई मिलाएर लैजानुपथ्र्यो। आफूजस्तै महत्वाकांक्षी साथीहरूको भिडमा परेको अवस्थामा ‘पावर सेयरिङ’ गरेर पनि जानुपथ्र्यो। 

पार्टी एकता जोगाएर आमजनताको हितको कार्यक्रम ल्याएको भए त सायद यो दुर्गति हुँदैनथ्यो। 

ओली प्रधानमन्त्री भएपछि सुरुका एक–दुई महिना उनको सद्बुद्धि आयो भने त नेपालमा पृथ्वीनारायण शाहपछि नै आमजनताको हितलाई बोकेर दोस्रो कीर्तिमान बनाउन सक्छन् भन्ने मलाई लागेको थियो। उनले सत्तामा पुगेपछि सबैलाई सिध्याएर एक्लो हनुमान हुने प्रयास गर्दा आफू पनि सिधिएर बालकोट पुग्नुपर्याे। 

अहिले पनि मलाई के लाग्छ भने ओलीले चाहेको खण्डमा पार्टी एकता २४ घन्टामै हुन्छ। 

ओलीले माधवलाई सिध्याएर एक्लो नेता हुन्छु भन्ठानेर त पार्टी एकता हुँदैन। पन्ध्र वर्ष पार्टी हाँकेका माधवको ‘इन्फ्लुयन्स’ पनि आफ्नो ठाउँमा त छ। 

दुवैले एकअर्कालाई अँगालेर हिजो गरेका गल्ती सुधार्दै जाने, एकअर्कामाथि विश्वास गर्ने र त्यसमाथि पनि ओलीजीले पहल गर्ने हो भने एकता असम्भव छैन। किनभने यहाँ कुनै नीतिगत विवाद छैन। भित्री विवाद भने एकअर्कालाई सिध्याएर सत्तामा जाने होडबाजी नै हो। 

अल्पमतमा भएँ भन्दैमा संसद् विघटन गर्नेजस्ता असंवैधानिक र अराजनीतिक काम गर्ने त ओलीजी नै हुन्। ओली अहिले पनि माधव गद्दार हुन् भन्नेमा गएका छन्। 

आफ्नो गलत आचरण त उनले विचार गरेका छैनन्। माधवपक्षका पनि आफ्ना गल्ती छन्, क्रियाका प्रतिक्रिया भएका छन्। ओलीले आफ्ना कार्यमा गल्ती छुट्याउने हो भने माधवले पनि प्रतिक्रियामा के–के गल्ती भए भन्ने छुट्याउँथे होला। 

त्यसो नहुने हो भने ओलीले एकताको तीन महिनामा माधवलाई निकाल्लान्। त्यसो भएको खण्डमा झन् चर्को अवस्था देशमा आउन सक्छ।  

ओली र नेपाल दुवैलाई नजिकैबाट नियाल्नुभएको छ। पछिल्ला घटनाक्रमको सेरोफेरोमा यी दुईको व्यवहार र कार्यशैलीलाई कसरी लिनुहुन्छ?

पछिल्लो स्थितिमा हेर्ने हो भने ओलीमा चालबाजी हावी भयो। नजिकै ल्याउने अनि लडाउने गरेको देखिन्छ। संसद विघटन गर्ने कुनै कारण नै उनीसँग थिएन। नयाँ विधान ल्याउनुथियो अथवा संविधान नै संशोधन गर्नुथियो भने विधान वा संशोधनको प्रस्ताव पारित हुन दिएनन् भन्ने ठाउँ हुन्थ्यो। यस्ता कुराको आधारमा त उनले संसद विघटन गरेनन्। विघटनको कारण राजनीतिक होइन भन्ने यसबाट स्पष्ट हुन्छ। 

अल्पमतमा भएँ भन्दैमा संसद् विघटन गर्नेजस्ता असंवैधानिक र अराजनीतिक काम गर्ने त ओलीजी नै हुन्। ओली अहिले पनि माधव गद्दार हुन् भन्नेमा गएका छन्। 

कहिले राजावादीलाई चक्मा दिएर नजिकै लिएर आउने, कहिले हिन्दुवादीलाई नजिकै लिएर आउने जस्ता चालबाजी गरेर अरूलाई गिराउने र आफू सत्तामा बस्ने दाउमा ओली लागे। कहिले प्रचण्डलाई एमालेमा नेता नै नभएकाले तपाईंलाई ल्याएँ भनेर उचाल्ने, कहिले माधवलाई तपाईं नै हो नेता भनेर उचाल्ने, कहिले झलनाथलाई उचालेर माधवलाई चिढ्याउने, कहिले बामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन दिने-यस्ता ‘ट्रिक’मा मात्र ओली लागे। सैद्धान्तिक रूपले पार्टी वा संविधानलाई समेट्ने कुरा ओलीबाट आएन। 

‘ट्रिक’मा त मान्छे धेरै चल्दैन। दुइटाभन्दा धेरै ‘ट्रिक’ प्रयोग गरेर लडाउने रणनीतिसहित ओली आए। साना–मसिना ‘ट्रिक’ त माधव पनि चलाउँदै हिँड्छन्। माधव नेपालको ‘ट्रिक’को तुलनामा आफ्नो ‘ट्रिक’को मूल्य बढाउन ओली सफल भए। अहिले पनि जसरी हुन्छ, माधवलाई ‘ट्रिक’कै आधारमा निकाल्ने काममा ओली लागेका छन्। 

तलको पिँढी पार्टी फुट्यो भने सत्तामा पुग्न सकिँदैन भन्ने डरका कारण पार्टी एकता जोगाउन लागिपरेको छ। तर, त्यो पिँढीले ओलीसँग हाकाहाकी कुरो गर्न सक्दैन। त्यो किन भने पार्टी एक रहने भएपछि सैद्धान्तिक एकरूपता जरूरी हुन्छ। पार्टी एक भएपछि संसद विघटनलाई के भन्ने? यसमा स्पष्टता नभई पार्टी एकता कसरी हुन्छ। यसबारे वार्ता गर्ने टिम त बोल्दैन। कि त संसद विघटन ठीक थियो भनेर माधवलाई ‘कन्भिन्स’ गर्नुपर्याे, कि संसद विघटन गलत थियो भनेर ओलीलाई भन्नुपर्यो। यो कुरा त अहिले बहसमै छैन। 

शक्ति बाँडफाँट गर्ने, दुई अध्यक्ष बनाउनेजस्ता ‘टेक्निकल’ कुरामा वार्ता कमिटी केन्द्रित छ। माधवपक्षबाट भर्खरै भने समसामयिक राजनीतिक घटनाबारै पार्टीमा एकरूपता हुनुपर्ने कुरा उठ्न थालेको छ। साँच्चै यो विषयमा एकमत हुने हो भने पार्टी एकता हुन्छ। हरेक नेताले फरक कुरो बोल्ने क्रम जारी छ। 

अहिलेको वार्ता टोलीमा भएकाहरू ओलीलाई यो चाहिँ गलत भयो भन्न सक्ने स्थितिमा छैनन्। भए पनि ओलीले पार्टीबाट निकालिहाल्छन्। मैले जे गरेँ, जे बोलेँ, त्यो माक्र्सले भनेभन्दा पनि माथि छ भन्ने कोणबाट उनले ‘डिलिङ’ गरिरहेका छन्। 

अहिले हेर्दा माधवको हार रओलीको जीतजस्तो लाग्छ। तर, ट्रिकबाट आएको सत्ता धेरै दिन टिक्छ जस्तो मलाई लाग्दैन। यद्यपि, दुवैले ‘ट्रिक’लाई छोडेर पार्टी एकता हुनुपर्छ भन्ने बुझको खण्डमा एकता गाह्रो चाहिँ छैन।

के देख्नुहुन्छ नेकपा एमालेको भविष्य? 

म त एमाले मात्रै होइन, कम्युनिस्ट पार्टीकै भविष्य अन्धकार देख्छु। यो देशमा तीनजना कम्युनिस्ट नेताहरूमात्रै निकै निःस्वार्थी र सैद्धान्तिकरूपमा काम गर्ने नेताहरू आए।

पुष्पलाल, मनमोहन र मदन भण्डारीले मात्रै हालसम्म कम्युनिस्ट पार्टीमा निस्वार्थ नेताको छाप छाडेका छन्। 

पुष्पलाल कहिल्यै सत्तामा आउनु भएन तर, उहाँले मुलभूल कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त, नेपालका इतिहास, अर्थतन्त्रको बारेमा व्याख्या गर्दै गणतन्त्रको एउटा धार फैलाउने काम गर्नुभयो। 

उहाँले निजी स्वार्थमा भन्दा पार्टीकै लडाइँ अनि सैद्घान्तिक लडाइँमा आफ्नो जीवन अगाडि लैजानुभयो।

त्यसभन्दा पछाडि कम्युनिस्ट पार्टीमा अलि निस्वार्थी व्यक्ति देखेको मनमोहन अधिकारी हो, मनमोहनजीमा सैद्घान्तिक त होइन, मेरो संगतमा उहाँ साधारण जीवन बिताउने, लोभीपापी मन कम भएको एउटा सरल व्यक्तित्वका रूपमा अगाडि आउनुभयो र, निरन्तर उभिएर वामपन्थी आन्दोलनको पहिलो प्रधानमन्त्रीसमेत बन्नुभयो। 

पहिलो प्रधानमन्त्री बन्न उहाँले मसिना दुई–तीनवटा कुराहरू वृद्धभत्तादेखि लिएर ‘आफ्नो गाउँ आफैं बनाऔं’ यी दुईवटा नारा उहाँले बडो निस्वार्थ रूपले आफ्नो पालामा पेस गर्नुभयो।

अहिले पनि जुनसुकै सरकारले यी दुईवटा नारा छाड्न सकेका छैन। बरु त्यसैलाई सँगै लिएर हिँडिरहेका छन्। अहिले ओलीले खाने पुँजी पनि त्यही नारा भएको छ, वृद्धभत्ताको नाममा। त्यस रुपले हेर्दा मनमोहनजी एउटा निस्वार्थी व्यक्ति देखिनुभयो।

पछिल्लो समय माधव नेपालजी अन्यायमा परेकै हो। माधवजीले पार्टी नेतृत्वमा हुँदा सकेसम्म बहुमतको दम्भ देखाएर अरूलाई निचोर्ने काम पनि गरेकै हुन्। 

अर्को निस्वार्थी व्यक्ति मदन भण्डारी, उहाँले प्रष्ट त राष्ट्रवादी धारलाई अगाडि ल्याएर कम्युनिस्ट आन्दोलनलाई अलि लोकतन्त्रीकरण अनि संसदीय धारलाई जंगी सुधार गर्नुभयो।  सायद यहि भएर होला, उहाँलाई दासढुंगााभन्दा अगाडि आउन दिइएन। 

उहाँ दासढुंगामा नपरेको भए, उहाँले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशामा लगेर शासनमा गइसकेपछि उहाँले आमजनताको जीवन सुधार गर्ने अनि आर्थिक अवस्था सुधार गर्ने काममा नयाँ बाटो वा तरिका दिनुहुन्थ्यो कि?

यी तीन नेताको कम्युनिस्ट चरित्र थियो तर, अनेक कारणले उनीहरूले आफूले लिएको लक्ष्य पूरा गर्न सकेनन्, पूरा गर्ने समय पाएनन्।

त्यसपछिका कम्युनिस्ट भनेको सत्तामा जाने, सबै नेताहरूको स्वार्थ भनेको धेरथोर प्रतिशतमा तल–माथि होला, कसरी सत्तामा जाने अनि सत्तामा जान सबैभन्दा सुरुमा गुट बनाउने र त्यही गुटलाई टेकेर सत्तामा जाने, सत्तामा गइसकेपछि आफ्नो स्वार्थ पूरा गर्न सम्पत्ति आर्जन गर्ने। एकातिर, भ्रष्टाचारी देख्नै सक्दिनँ भन्ने अनि काम चाहिँ भ्रष्टाचारभन्दा पर्तिर गर्दै नगर्ने। अब त्यो भनेको के हो भने अहिलेको निर्वाचन बडो खर्चिलो र महँगो छ।

पछिल्लो संविधानले निर्वाचन क्षेत्र सानो बनायो, सानो बनाएपछि करोडौं पैसा खर्च गर्नुपर्ने भन्न थाले। करोड–करोड खर्च नगरी निर्वाचन जितिँदैन, त्यो निर्वाचन जित्न र आफ्नो टिमलाई जिताउन अर्बौं रुपैयाँ चाहियो। 

यो कमाउने काममा वामपन्थी मात्र होइन, कांग्रेस त्यसैगरी लागेको छ। सबैको कामचाहिँ के भने सत्तामा जान पैसा कमाउने र फेरि पैसा खर्च गर्न जनतामा आउने यो रोटेसनमा गयो। देश र जनताका लागि देशको रुपान्तरणको चिन्ता–व्यथा कसैमा छैन। नेपाली कांग्रेसकै सरकार बने पनि सायद कांग्रेसले पनि त्यति धेरै नयाँ रुप र देशको रुपान्तरण जाने सम्भावना छ। यसरी काम गरेको कांग्रेसको न हिजोको इतिहास छ, न अहिले केही गर्न सक्छ। 

अब एमालेको पनि सबै नेताहरूको काम भनेको सत्तामा जाने सम्पत्ति कमाउने, पैसा कमाउने, अर्बौं कमिसन लिने अनि फेरि चुनाव जित्ने मात्र भयो। रुपान्तरणको दिशामा कोही गएनन्। कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण गर्ने बाटो छाडेर आफ्नो स्वार्थ र पुँजीवादी राजनीतिको विकृत चंगुलमा कम्युनिस्ट पार्टीका नेताहरू पुगे, अब कम्युनिस्ट आन्दोलन सुधारिएर अगाडि जाने स्थिति यही चक्र चलिरहँदा सम्भावना होला त? 

एमाले भोलि चुनावमा एकजुट भएर जाला वा फुटेर जाला। धेरै पैसा खर्च गरेर चुनाव पनि जित्ला। तर, त्यसपछि आएर पनि हुने खेल त यही न हो, देशमा सुधार हुँदैन, आमूल परिर्वतन हुँदैन, ओली नै आए पनि हुँदैन। यो बुद्धिमा माधव नेपाल नै आए पनि देशमा परिवर्तन हुँदैन, प्रचण्डजी नै आए पनि यही स्थितमा केही हुनेवाला छैन। 

सबैको काम भनेको आफ्नो मोजमस्ती गर्नेबाहेक अरु केही छैन। यसो भएको हुनाले कम्युनिस्ट आन्दोलनको यो अघिल्लो नेतृत्वले देशलाई रुपान्तरण गराउन सक्दैन। भयो के भने कम्युनिस्ट आन्दोलनमा पुँजीवादी चिन्तनका मान्छेहरु, निम्न पुँजीवादी सोचका मान्छेहरुले अगुवाइ गर्न थाले। उनीहरू देशप्रति समर्पित होइन, आफ्नो सत्ताप्रति, आफ्नो सत्तालाई जोगाउने कामप्रति समर्पित भए। 

उनीहरुले कम्युनिस्ट विचारलाई धेरै बदनाम बनाए। अब कम्युनिस्ट विचार बोकेका, देश रुपान्तरण गर्ने सोच भएको नेतृत्व पार्टीमा आउने सम्भावना कम छ। 

राजनीति हो, त्यस्तो व्यक्ति आउँदै–आउँदैन् त म भन्दिनँ। तर, अहिलेको नेतृत्वलगायत दोस्रो–तेस्रो पुस्ताका नेताहरू सबै कमाउमा छन्, त्यसैले कम्युनिस्ट आन्दोलन संकटमा परेको छ।

अब कम्युनिस्टले चुनाव चुनाव जितेर आए पनि कम्युनिस्ट पार्टी अनुकुल हुँदैन, देश रूपान्तरण गर्ने कुरा हुँदैन। अर्को कुरा, चुनाव नै जित्ने पनि कहाँ सजिलो कहाँ छ? एमालेमा तीन–तीनवटा गुट छन्, अहिलेको स्वरुपमा पनि चुनाव जित्न निक्कै अप्ठ्यारो छ। 

कथंकदाचित चुनाव जिते भने पनि यिनीहरुले देश रुपान्तरण गरेर, देशमा स्थायित्व दिएर, आमजनतालाई खुसियाली दिनेवाला छैनन्। 

अहिले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ। सरकार गठनमा अदालतको भूमिका देखिए पनि प्रचण्ड र माधव नेपालको समर्थनको मुख्य भूमिका देखिन्छ। यो गठबन्धनको भूमिका कस्तो देख्नुहुन्छ?

यो एमसीसीमाथि भर पर्छ। एमसिसी पास गर्ने/नगर्नेबारे विवाद आएन भने गठबन्धन अगाडि जान्छ। माओवादीको तल्लो खेमा एमसिसी पास गर्ने पक्षमा छैन। प्रचण्ड र अन्य शीर्षनेताले त मुख खोलेका छैनन्। धेरैले प्रचण्ड एमसीसीको पक्षमा छन् भन्ने चर्चा गर्छन्। त्यो कति सत्य हो, भोलि देखिएला। 

यदि एमसीसीको विरोधमा माओवादी आए ओली र र देउवा मिलेर फेरि नयाँ ‘ब्लक’ बन्न सक्छ। यो गठबन्धन टुट्नसक्छ किनभने यो देशभित्रबाट मात्रै बनेको छैन। ओलीले गरेका काममा पनि बाह्य शक्तिको भूमिका थियो। त्यसमा लाग्दालाग्दै उनी यो ठाउँमा आइपुगे। सबैले पत्याएका छन् भनेर जे पायो, त्यही गर्दै गए। रूखको टुप्पामा पुर्याएर अन्त्यमा उनलाई खसालिदिए। उनको बुद्धिको दुरुपयोग बाहिरी शक्तिले गरे।  

महरामाथि मुद्दा चलाउनुका पछाडि पनि एमसीसी पास गरेन भन्ने कुरो नै थियो। भनेपछि ओली एमसीसीको पक्षमा छन् भन्ने कुरो आएको छ। बाह्य शक्तिले चाह्यो भने यो मोर्चा तोडेर ओलीको र देउवाको सहकार्यमा पनि एमसीसी पास गर्न सक्छन्। एमसीसीमा किचलो भएन भने यो मोर्चा चुनावसम्म जानसक्छ। 

Logo