वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएकी छन् ।
विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आएकी उनी सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उनले भनिन्, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आएकी उनले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाएका हुन् ।
खोला किनारको जङ्गलको छाप्रोबाट उनी पक्की घरमा सर्दैछिन् । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उनले बताइन् । “मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,” उनले भनिन्, “घडेरी किन्ने उपाय थिएन । खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।” घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उनको भनाइ छ ।
त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आएका मधु वादीले भनिन्, “धेरै समय खुला ठाउँमा बस्यौँ । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो । नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ ।”
लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबेँ सीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन् । सन्धिखर्क नगरपालिकाले १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो ।































प्रतिक्रिया