नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी एकताका लागि माधव नेपाल समूहसँग यसभन्दा बढी लचक हुने ठाउँ नरहेको बताएका छन्।
पार्टीभित्र एकताका लागि अधिक प्रयास गरिरहे पनि माधव समूह त्यसबाट उम्किन खोजेको उनको जिकिर छ। ‘हामी पाएको जिम्मेवारी परित्याग गरेर भए पनि पार्टी एकता गर्न भनी लागिरहेका छौं। तर, माधव नेपाल समूहबाट ‘ग्रीन सिग्नल’ आएको छैन। तथापि, हामी पार्टी एकता गर्न कटिबद्ध छौं,’ सचेतक भट्टराईले भने।
केन्द्रीय कमिटीको विधान संशोधन गर्ने प्रस्तावमा माधव समूहबाट असन्तुष्टि उब्जिएको भए पार्टीमा आएर छलफल गर्नुपर्ने र असन्तुष्ट भए बैठकमार्फत् परिमार्जन गर्न सकिने उनले बताए।
पार्टी एकता गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै कसर नराखेको उनको भनाइ छ। ‘अध्यक्षज्यूले पार्टी एकता गर्न कुनै कसर छाड्नु भएको छैन। सुरुमा पदाधिकारी पुनस्र्थापित गर भनेर माधव नेपालले भन्नुभयो त्यो गर्यौं। केन्द्रीय कमिटी ब्युँताऊ भन्नुभयो, त्यो पनि गर्यौं । विवाद सामाधान गर्न कार्यदल बनाऔं भन्नुभयो, त्यो पनि बनायौं । २ जेठमा जाऔं भन्नुभयो त्यहाँ पनि गयौं । अब के बाँकी छ र?’ भट्टराईले भने। अब माधव नेपाल समूह खुरुक्क पार्टीमा फर्किएर काममा लागे हुने उनको धारणा छ।
भट्टराईले माधव नेपाल पक्षका केही नेताहरूले ओलीले मंगलबार अपमानजनक शैलीमा सम्बोधन गर्नुभएको भन्ने आरोपप्रति कडा प्रतिवाद गरेका छन्।
‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा बोलेको कुराले पार्टी एकतामा खलल पुर्याउने नभएर एकताका लागि आधार तयार गर्ने काम भएको छ। पार्टी विभाजन गर्न खोज्नेहरूलाई अनि विभाजन गरेरै छाड्ने कसम खाएकाहरूको लागि यो ओलीको सम्बोधन निहुँ मात्र बनेको छ,’ उनले भने।
ओलीको सम्बोधनमा पार्टीलाई धुमिल बनाउने अभिव्यक्ति नभएको भट्टराईको दाबी छ।
‘मन्त्री पद माग्न गएका, मन्त्री खानै अध्यक्ष ओलीलाई छाडेर देउवालाई मत दिएका छन् तिनीहरूलाई यो अभिव्यक्तिले चोट पुग्नु के नौलो कुरा भो र ? हिजोको सम्बोधनले सबल प्रतिपक्ष कस्तो हुन्छ भनेर ओलीले देखाउनुभएको छ, स्वयं सत्तापक्षलाई समेत गम्भीर शिक्षा दिएको छ,’ भट्टराईले भने।





























प्रतिक्रिया