आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनका लागि नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका छन्।
नेपाल टेनिस संघले आयोजना गरेको छनोटबाट पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्शिल श्रेष्ठ छनोट भएको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। महिलामा शिभाली गुरुङ र मान्सा कँडेल छानिए।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पाकिस्तानको इस्लामाबादमा हुने उक्त प्रतियोगिता दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता हो।
यस प्रतियोगिताबाट पुरुष/महिलामा समान २–२ राष्ट्रले काजकिस्तानमा नोभेम्बर २२ तारिखदेखि हुने प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन्। पाकिस्तानमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली सेप्टेम्बर ११ मा इस्लामाबाद पुग्ने तालिका रहेको कार्यालय सचिव देवकोटाले जानकारी गराए।































प्रतिक्रिया