कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ । पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए ।
सुरुआतमा स्थानीय लघुजलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पुर्याएकाले अँध्यारोमै बस्दै आएकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएकोे हो ।
गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार सामुहिक मिटर बक्सको स्वीचअन गरी लाइनको शुभारम्भ गरे । सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उनको भनाइ थियो ।
बिजुली अभावमा लामो समय वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो । बाढीले मादी नदी किनारमा निर्माणाधीन र सम्पन्न भएका गरी आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो । रासस































प्रतिक्रिया