राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २०४७ यता सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ ।
नाजायज ढंगले आर्जन गरिएको सम्पत्ति जफत गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत राप्रपाले आग्रह गरेको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी स्थानमा सफलता दिलाउने उद्देश्यका साथ तयार गरिएको स्थानीय तहको निर्वाचन विशेष कार्ययोजना सक्रिय रुपमा कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, आगामी कार्तिक २७ देखि काठमाडौंमा हुने राप्रपाको महाधिवेशन समयमै सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ । यस क्रममा भदौ मसान्तभित्र वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरिने छ । साथै, असोज १५ भित्र प्रदेश अधिवेशन र असोज २० भित्र सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने कार्य सम्पन्न गरिने छ ।
कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति थियो ।





























प्रतिक्रिया