काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्ज्याक्सन बैंकिङ नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आईटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्रान्डका स्मार्टफोनहरू इफिक्स नेपालको आधिकारिक वेबसाइटबाट खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।
यस सुविधा अन्तर्गत ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने विशेष लाभ प्राप्त गर्नेछन्। मासिक किस्ताबन्दीका लागि ग्राहकहरूले बैंकको अनलाइन पोर्टलबाट सहजै आवेदन दिई आफ्नो भुक्तानीलाई मासिक किस्तामा रूपान्तरण गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यसका साथै, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘साइबरसोर्स’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन्। यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ अनुभव प्रदान गर्न बैंक सदैव क्रियाशील रहेको परिप्रेक्ष्यमा, इफिक्स नेपालसँगको यस सहकार्यले ग्राहकहरूको व्ययभार कम गर्न ठूलो मद्दत मिल्ने विश्वास बैंकले लिएको छ।





























प्रतिक्रिया