ताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ। विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ।
आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ। रु नौ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिराेबाट र चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएका विपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पछिल्लो तीन आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा भएका विपद्का घटनामा सबैभन्दा बढी आगलागीले क्षति गरेको तथ्याङ्क रहेको जानकारी दिए।
प्रजिअ पाण्डेका अनुसार गएको आव २०७७/७८ मा ताप्लेजुङमा रु चार अर्ब पाँच करोड ६२ लाख पाँच हजार ३७९ बराबरको क्षति भएको छ। उक्त कूल क्षतिमध्ये आगलागी घटनाबाट मात्रै रु चार अर्ब तीन करोड ७५ लाख २१ हजार ३७९ बराबरको क्षति भएको तथ्याङ्क रहेको पाण्डेले बताए। गत वर्ष बाढी/पहिराबाट रु एक करोेड ६७ लाख ६८ हजार, चट्याङबाट रु १३ लाख १६ हजार र भूकम्पबाट रु छ लाख बराबरको क्षति भएको छ।
गत आवमा आगलागी र चट्याङबाट एक–एक तथा बाढी/पहिराेबाट पाँच गरी सात जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। सो वर्ष विपद्जन्य घटनाबाट २९ वटा पशुचौपाया मरेका छन् भने सात घाइते भएका छन्। यस्तै दैवीप्रकोप तथा विपद्जन्य घटनाका कारण १०२ वटा कच्ची र छ पक्कीसहित १०८ घरमा क्षति पुगेको समितिको तथ्याङ्क छ।
त्यस्तै आव २०७५/७६ मा भएका प्रकोप तथा विपद्का घटनाबाट रु सात करोड १३ लाख ७७ हजार ७५० बराबरको क्षति भएको छ। सो बराबरको क्षतिमध्ये आगलागीका घटनाबाट मात्र रु तीन करोड ७० लाख ४७ हजार २५० बराबरको क्षति भएको छ। उक्त आवमा बाढी/पहिराबाट रु तीन करोड ३१ लाख ९० हजार ५०० र हुरीबतासबाट रु ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ। विपदमा परेर एक जनाको मृत्यु र छ घाइते भएका थिए। सो आवमा ८७ वटा घरमा क्षति पुगेको थियो।
त्यसैगरी आव २०७६/७७ मा विपद्जन्य घटनाबाट रु १५ करोड १५ लाख ७५ हजार ३५० बराबरको क्षति भएको थियो। सो वर्ष आगलागीजन्य घटनाबाट मात्र रु १० करोड ५३ लाख २० हजार ३५० बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ। सोही आवमा बाढी र पहिराबाट रु चार करोड ६१ लाख चार हजार र चट्याङबाट रु एक लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो। विपद्का घटनामा सो वर्ष एक जनाको मृत्यु र पाँच जना घाइते भएका थिए। पशु चौपाया सातवटा मरेका थिए । एक पक्कीसहित ३२ वटा घरमा क्षति पुगेको थियो।रासस































प्रतिक्रिया