काठमाडौं ।
वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्ग अन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ ।
त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए। उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोही अनुरुप सडकको विस्तार थालिसकिएको उनले बताए ।
उनले सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी दिए। सुरुङमार्ग निर्माणका लागि विभिन्न देशका १२ वटा कम्पनीले परामर्शदाताको रूपमा काम गर्न इच्छाएर प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै मन्त्री फुँयालले परामर्शदाताको छनोट लगत्तै सुरुङमार्गको निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए।
मन्त्री फुँयालले मदन भण्डारीमार्ग अन्तर्गत मकवानपुरको भैँसेबाट भीमफेदी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ बल्खुसम्मको ६५ किलोमिटर सडक विस्तारको काम द्रुतगतिमा भइरहेको बताए । उनले सोहीमार्ग अन्तर्गत रु ५० करोड लागतमा भैँसेबाट भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिए। सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुँयालले चालू आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुर्याउने दाबी गरे ।
वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि रु १८ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ । तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ ।
सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार तीन दशमलव २१ किलोमिटर लामा, १५ र सात मिटर फराकिला दुईवटा सुरुङ निर्माण गरिनेछ । सरकारले सुरुङमार्गलाई निजगढ–काठमाडौँ द्रुतमार्गसँग समेत जोड्ने योजना अघि सारेको छ । त्यसो गर्नसके हेटौँडा–काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने बताइएको छ ।रासस































प्रतिक्रिया