नेकपा एमाले वैधानिक रुपमै विभाजन भएको छ। एमाले विभाजनको असर कर्णाली प्रदेशमा पनि परेको छ। पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र केपी ओली नेतृत्वको एमाले दुई पार्टी बनेका छन्।
विगतमा कर्णालीमा १० मध्ये सातजना माधव समूहका अध्यक्ष थिए। हाल एमालेमा हुँदा सातजना जिल्ला अध्यक्षको साथ पाएका नेपालसँग नयाँ पार्टी बनाउँदा तीनजनाको साथ पाएका छन्। मुगुका अध्यक्ष धर्मबहादुर शाही, रुकुम पश्चिमका अध्यक्ष विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन्। नेपाल पक्षका डोल्पाका अध्यक्ष दत्त रोकायको मृत्यु भइसकेको छ।
विगतमा नेपाल पक्षमा खुलेका सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही, जाजरकोटका अध्यक्ष करवीर शाही, हुम्लाका अध्यक्ष दल रावललगायतका नेताहरु हाल ओली पक्षमा खुलेका छन्।
केन्द्रीय सदस्यहरु को कता?
एमालेका कर्णालीका प्रभावशाली केन्द्रीय सदस्यहरुमध्ये माधव नेपाल पक्षका नेता विष्णु रिजाल पनि संस्थापन पक्षमा खुलेरै होमिएका छन्। कर्णाली प्रदेशका इन्चार्ज रहेका यामलाल कँडेल, कर्णाली प्रदेश अध्यक्ष रहेका गोरख बोगटी एमालेमै छन्। त्यस्तै, माधव नेपाल पक्षका गोपाल बम, डोल्पाका धनबहादुर बुढा, जाजरकोटका निरज आचार्य पनि अहिले कुनै पक्षमा खुलेका छैनन्।
प्रदेशसभामा को कति बलियो?
कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद रहेका थिए। माओवादी केन्द्र र एमालेको एकीकरण नभएको भए कर्णालीमा एमालेको एकल बहुमत रहेको थियो। तर, दुई पार्टी एकीरण भएका कारणले मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्यो र एमालेले सरकार चलाउने मौका पाएन्।
कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये माधव समूहमा नौ र ओली समूहमा ११ जना थिए। तीमध्ये चार जनालाई एमालेले कारवाही गरेको छ। बाँकी १६ मध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुमका देवी ओली नेकपा एकिकृत समाजवादीमा खुलेर लागेका छन्। हाल १४ जना सांसद एमालेका छन्।
यसभन्दा अघि नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही एमाले नै देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन। न्युज कारखानाबाट





























प्रतिक्रिया