महाधिवेशनका लागि देउवा इमान्दार हुनुपर्योः रामचन्द्र पौडेल

महाधिवेशनका लागि देउवा इमान्दार हुनुपर्योः रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधीभित्रै पार्टी महाधिवेशनको निर्वाचन सुरु हुनुपर्ने बताएका छन्। त्यसका लागि युद्धस्तरमा अहोरात्र खटेर क्रियाशील सदस्यता पारदर्शी ढंगले टुंग्याउनु पर्ने बताए।

उनीपक्षीय जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनुसनप्रति आज ऐक्यवद्धता जनाउँदै महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासँगै बाँकी नेताहरू इमान्दार हुनुपर्ने पनि बताए।

यसअघि सभापति देउवाले तोकिएकै मितिमा ‘महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ’ भनेर महाधिवेशनको वातावरण भने नबनाएको उनको आरोप छ। सोही कारण पार्टीमा वैधानिकताको संकट देखिएको उनी बताउँछन्।

२८ मंसिर २०७७ मा कार्यतालिका बनाएर महाधिवेशन सुरु गरौं भन्दा नमानिएकाले पार्टी संवैधानिक संकट सामना गर्नुपर्ने स्थितिमा आइपुगेको बताए।

पार्टीको नयाँ र नवीकरण गरिएको क्रियाशील सदस्यताको विवरण सार्वजनिक हुनुपर्ने भन्ने जिल्ला सभापतिहरूको मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा पनि उनको जोड छ। त्रुटि भए सच्याउने समय दिनुपर्ने नेता पौडेलले बताए।

जिल्ला सभापतिहरूले थालेको अनसनप्रति ऐक्यवद्धता जनाउन महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, पूर्वसहमहामन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा. शेखर कोइरालालगायत पनि पुगेका थिए।

त्यसअघि पूर्वमहामन्त्री सिंहको चाक्सिबारीमा आज बिहान बसेको उनीहरूको बैठकले सभापतिहरूले थालेको अनसनप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको थियो। सभापतिहरूले क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायत माग राखेर अनसन थालेका हुन्। 

उनीहरूले माग सम्बोधन नहुञ्जेल अनसन बस्ने बताएका छन्। सभापति देउवाले भने अनसनरत जिल्ला सभापतिहरूको मागलाई सम्बोधन गर्ने बताइसकेका छैनन्।

Skip This
Skip This
Logo