‘दक्ष जनशक्ति निर्माण अहिलेको कार्यभार’ : शिक्षामन्त्री पोखरेल

‘दक्ष जनशक्ति निर्माण अहिलेको कार्यभार’ : शिक्षामन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन् । आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङगम गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए ।

सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने उद्घोष गरे अनुरुप हालसम्म ६३७ पालिका (स्थानीय तह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ । जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए । शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनु पर्ने पोखरेलको भनाइ छ ।

पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनु पर्ने पोखरेलले बताए । “परिस्थितिवश विद्यालय बन्द हुन सक्छन्, जस्तो कि अहिले बन्द गरिएका छन् ”, मन्त्री पोखरेलले भने, “तर, शिक्षा लिने÷दिने प्रक्रिया बन्द हुँदैनन्, बन्द गरिनु हुँदैन ।” वैकल्पिक सिकाइ पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ ।

बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिकसत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ । यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । यसपालि ८० जना यो लेभलको अध्ययनका लागि छनोट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिए । यसका अतिरिक्त छोटो अवधिका सीप सम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपालि होटल व्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ । यसपालि प्रदेश नं २ को बर्दिवास, प्रदेश नं १ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिए।

प्रतिष्ठानको शाखा कार्यालय सञ्चालनले अहिले विश्व श्रमबजारमा राम्रो ठाउँ ओगटेको होटल म्यानेजमेन्ट विषयको प्रयोगात्मक पठनपाठन र सीप अभिवृद्धिका छोटो अवधिका तालिम आफ्नै ठाउँमा लिन पाइने कुराले महोत्तरी र आसपासका क्षेत्रमा उत्साह छाएको छ ।रासस

Skip This
Skip This
Logo