एकाएक किन बढ्यो निधिको धार्मिक रुझान ?

एकाएक किन बढ्यो निधिको धार्मिक रुझान ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमा एकाएक धार्मिक रुझान देखिएको छ। धर्म निरपेक्षताको कट्टर समर्थक भनेर उनी कांग्रेसमा चिनिएका नेता हुन् । तर, शुक्रबार भने उनको धार्मिक रुझान हिन्दुधर्मप्रति प्रकट भयो।

उनले के सम्म भन्न भ्याए भने ‘नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्दछ र धार्मिक स्वन्त्रता नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको पुरानो मान्यता हो।’
कट्टर हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘धार्मिक स्वन्त्रता’ लाई ‘हिन्दु राष्ट्र वा हिन्दु राज्य’ सँग जोडेर व्याख्या गर्दै आएको छ।

राप्रपाको व्याख्यासँग मिल्दोजुल्दो अभिव्यक्ति सार्वजनिक भएपछि धर्म निरपेक्षता त्यागेर निधि धर्म सापेक्षता वा धार्मिक स्वतन्त्रताप्रति बफादार हुन पुगेको अड्कल छ।

धर्म निरपेक्षता पक्षधरहरूको चाहना धार्मिक स्वतन्त्रता होइन। यसअघि निधिले पनि धार्मिक स्वतन्त्रताबारे मुख खोलेका थिएनन् ।

तर, उनले त्यसबेला धार्मिक स्वतन्त्रताबारे मुख खोलेका छन्, जतिबेला कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ।

उनले पार्टीको केन्द्रीय सभापति पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन्। फेरि, कांग्रेसमा हिन्दु धर्मको पक्षमा खुलेका थुप्रै नेता छन्। 

१३ औं महाधिवेशनमा त खुमबहादुर खड्काले हिन्दु धर्मको एजेण्डा बोकेर अधिक मत प्राप्त गरेका थिए पनि। जतिबेला सशक्त ढंगले धार्मिक एजेण्डा उठान भएको थियो। १४ औं महाधिवेशनमा नउठेको बेला उपसभापति निधिले घुमाउरो ढंगले हिन्दु धर्मको एजेण्डालाई उठाए।

जुन कुराको प्रष्टता उनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भयो । उद्घाटनमा जानकी मन्दिरका महन्थदेखि पशुपतिका भण्डारी, दक्षिणकाली, सूर्यविनायकदेखि अनेकन मन्दिरका पूजारी भेला भए। ज्योतिषी भेला भए। उनीहरूबाट आशिष वचन लिए।

यद्यपि, उनले बौद्ध धर्मका गुरु २/३ जना लामा र मुस्लिम धर्मका गुरुहरूबाट पूजा गराएर आशिष लिएको बताए। हेर्दा धार्मिक रूपले अन्य धर्मप्रति समभाव प्रकट गर्न खोजे जस्तो देखिए पनि उनको जोड हिन्दूधर्मप्रति रह्यो।

विचारमा प्रष्टता र इमान्दारिता देखाउँदा मात्रै जनताले भरोसा गर्ने भनेका निधिले संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताए। आवश्यकता परेर धार्मिक स्वन्तन्ता वा हिन्दु राज्य बनाएर अघि बढ्नुपर्छ भन्ने उनको संकेत हो।

जबकि, नेपाली कांग्रेस धर्मनिरपेक्षता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र समानुपातिक प्रणाली जस्ता मुलभूत राजनीतिक उपलब्धिको समर्थक दल हो। ती राजनीतिक उपलब्धिहरू प्राप्ति भएको २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनको एक नेतृत्वदायी दल हो।

जुन दलको २०७५ मंसिर २८ देखि पुस ३ गतेसम्म भएको महासमिति बैठकले पारित गरेको राजनीतिक प्रस्तावमा धर्म निरपेक्षतासहितको राजनीतिक उपलब्धिलाई संस्थागत र सुदृढीकरण गर्नु नेपाली कांग्रेसको मूल जिम्मेवारी रहेको ठहर्याएको थियो।  त्यस विपरीत महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, शंकर भण्डारीसँगै अन्य नेताहरू रहँदा शुक्रबारदेखि निधि पनि थपिए।

फेरि, संविधानमै ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’, भनिएको पनि छ।

तर, हिन्दूवादीहरूले पश्चिमा देशको क्रिश्चियन धर्म विस्तार गर्ने योजनाअनुसार देशलाई धर्म निरपेक्ष बनाएको आरोप छ। यस्तो अवस्थाबीच निधिले हिन्दु धर्मप्रति बढी रूझान देखाउनुलाई महाधिवेशनमा दक्षिणी मुलुक भारतको सहानुभूतिको अपेक्षा गरेको प्रमाणको रूपमा हेर्न सकिन्छ।

उता भारतमा पनि कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टी (भाजपा) सत्तामा छ। कांग्रेसको परम्परागत ‘लिगेसी’ पनि भारतसँगै हो । त्यसैले ‘निधि नीति’ भारतोन्मुख देखिन्छ । भारतको सत्ताधारी भाजपाले फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहेको छ। 
 

Skip This
Skip This
Logo