नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन्।’
अध्यक्ष ओलीले एक दुईवटा पात खस्दैमा रूखलाई फरक नपरेजस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताए । महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै उनले पार्टीको केही साथीहरु प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाए ।
‘पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,’ ओलीले भने, ‘एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षड्यन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै मुलुकलाई पछौटेपनबाट आधुनिक, अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने बताए ।
कार्यक्रमम एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने विचार राखे । रासस































प्रतिक्रिया